
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाभित्रका तीन सामुदायिक विद्यालयमा आधुनिक प्रविधिबाट संरचनागत मजबुतीकरण (रेट्रोफिटिङ) कार्य सुरु गर्न तयारी गरिएको छ। विद्यालय भवनलाई भूकम्प–प्रतिरोधी बनाउँदै सुरक्षित शैक्षिक वातावरण निर्माण गर्ने लक्ष्यसहित नगरपालिकाले यस वर्ष रेट्रोफिटिङलाई प्राथमिकतामा राखेको हो।

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख टीकेन्द्रराज भट्टका अनुसार पहिलो चरणमा वडा नम्बर ५ को शिवशङ्कर माध्यमिक विद्यालय–गर्जमनी र वडा नम्बर ८ को जनभावना आधारभूत विद्यालय–नौखरीमा काम प्रारम्भ हुनेछ। दोस्रो चरणमा वडा नम्बर १ स्थित जीर्ण अवस्थामा रहेको श्रीकृष्ण आधारभूत विद्यालय–रामनगरमा रेट्रोफिटिङ गरिने उनले बताए। इ–बिडिङ प्रक्रियामार्फत काम अघि बढाइने र यसको लागि ३० लाखभन्दा बढी बजेट विनियोजन भइसकेको उनले जानकारी दिए।
नगरपालिकाले केही महिनाअघि गरेको भवन मूल्याङ्कनमा यी विद्यालयहरूलाई मध्यमदेखि उच्च भूकम्प जोखिम समूहमा राखिएको थियो। स्तम्भ कमजोर हुनु, बीम–स्ल्याब चिरा पर्नु, फाउन्डेसन कमजोर देखिनु तथा भवनको उचाइ–सन्तुलनमा समस्या देखिनुले तत्काल सुधार आवश्यक रहेको सामाजिक विकास समितिका संयोजक रमेशबहादुर ऐरले बताए। उनका अनुसार पुरानो निर्माण मापदण्डअनुसार बनेका भवनमा अहिले अनिवार्य मानिने ‘डकटाइल डिजाइन’ र ‘सिस्मिक डिटेलिङ’ नहुँदा रेट्रोफिटिङ अपरिहार्य बनेको हो।
रेट्रोफिटिङअन्तर्गत स्तम्भमा कङ्क्रिट–ज्याकेटिङ, कमजोर भित्तामा स्टिल–मेस र शटक्रिट, बीम–पिलरमा स्टिल प्लेट तथा एङ्कर बोल्ट, स्टिल ब्रेसिङ, कमजोर फाउन्डेशनमा माइक्रोपाइल र ग्राउटिङ, ढल्किएका कक्षाकोठा सिधा गर्ने, ढोकाझ्याल परिमार्जन तथा विद्यालय परिसरमा इमरजेन्सी एक्जिट र सेफ्टी रेलिङ जडानजस्ता काम हुनेछन्।
नगर उपप्रमुख कल्पना पन्तका अनुसार सुरक्षित भौतिक संरचना शिक्षाको गुणस्तर वृद्धि गर्ने मुख्य आधार हो। “कमजोर भवनले विद्यार्थीको मनोबलमा असर गरेको थियो,” उनले भनिन्, “रेट्रोफिटिङपछि सुरक्षित वातावरण सिर्जना भई शिक्षक–विद्यार्थी दुवैको सिकाइमा सकारात्मक प्रभाव पर्छ।”




























