
अत्तरिया: कैलालीको गोदावरीमा आजदेखि १६औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता भव्य रूपमा सुरु हुँदैछ। गोदावरी नगरपालिका–२ स्थित दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालयमा आयोजित यस प्रतियोगिताको उद्घाटन आज बिहान ८ बजे नगरप्रमुख विरेन्द्र भट्टले गर्ने कार्यक्रम तय भएको छ।

मंसिर १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विद्यार्थीहरूको क्षमता र प्रतिभा उजागर गर्ने उद्देश्यसहित विभिन्न खेलहरू समावेश गरिएको छ। भलिबल, कबड्डी, एथलेटिक्स, दौड, हाइ जम्प, लङ जम्प, ट्रिपल जम्प, ज्याभलिन थ्रोजस्ता ट्रयाक–फिल्ड प्रतिस्पर्धासँगै मार्सल आर्टका कराँते, तेक्वान्दो र उसु पनि आकर्षणका खेल रहनेछन्।
प्रतियोगिताले स्थानीय विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा, खेलकुदप्रति रुचि र प्रतिभाशाली खेलाडी पहिचान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास रहेको छ। गोदावरी नगरभित्रका विभिन्न विद्यालयको सहभागिता रहने यस रनिङ्ग शिल्डले प्रदेशस्तरीय खेलाडी उत्पादनमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।




























