
कैलालीसँग जोडिएका नेपाल–भारत सीमा नाकामा सुरक्षा जाँचलाई थप कडाइ गरिएको छ। भारततर्फबाट नेपाल प्रवेश गर्ने यात्रु तथा समूहहरूलाई अब पहिलाभन्दा कडाइका साथ जाँचपछि मात्र प्रवेश गराइने गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार सीमा क्षेत्रमा पछिल्लो समय परिचय नखुलेका शंकास्पद व्यक्ति तथा समूह अवैध रूपमा प्रवेश गर्ने सम्भावना बढेकाले सुरक्षा निकाय सतर्क रहेको छ। “सुरक्षासम्बन्धी चुनौतीलाई ध्यानमा राख्दै अब जाँच कडाभन्दा कडा बनाइएको छ,” जोशीले बताए।

उनले शंकास्पद व्यक्ति वा समूह देखिएमा तत्काल नजिकको सुरक्षा निकायलाई खबर गर्न सर्वसाधारणसँग आग्रह गरे। साथै, परिचय नखुलेका अपरिचित व्यक्तिलाई घरमा बसाल्न, कामकाजमा लगाउन वा आवत–जावत गराउन नहुने चेतावनीसमेत दिए।

सीमा क्षेत्रमा कडाइपछि प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायहरू सक्रिय रूपमा तालमेल गर्दै अनुगमनमा जुटेका छन्। सुरक्षा निकायको भनाइअनुसार, कडाइका उपायले संभावित जोखिम घटाउने र जिल्लाको शान्ति–सुरक्षामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।































