गोदावरी नगरपालिकामा एआई एक्स–रेमार्फत क्षयरोग स्क्रिनिङ

Image
Nisarga Hospital

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा एआई प्रविधियुक्त एक्स–रे मेसिन प्रयोग गरी क्षयरोगको स्क्रिनिङ गरिएको छ। स्वास्थ्य निर्देशनालय डोटीको प्राविधिक सहयोगमा गोदावरी नगरपालिकाको स्वास्थ्य शाखाले स्क्रिनिङ शिविर सञ्चालन गरेको हो। क्षयरोग मुक्त अभियानअन्तर्गत समुदायमा सक्रिय क्षयरोगी पहिचान गर्न शिविर आयोजना गरिएको गोदावरी नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी वीरबहादुर कुँवरले जानकारी दिए। उनका अनुसार नगरपालिकाभित्रका तीनवटा आधारभूत स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन गरिएको थियो।

CP Hospital Dhangadhi
Attariya Hospital

शिविर गोदावरी नगरपालिका–२ तेघरी, वडा नं. ४ फुलबस्ती र वडा नं. ७ जमुनानगरस्थित आधारभूत स्वास्थ्य केन्द्रमा आयोजना गरिएको हो। कुँवरका अनुसार यसपटक नगरभित्रका महिला स्वास्थ्य स्वयंसेविकामार्फत क्षयरोगका लक्षण देखिएका शंकास्पद व्यक्तिहरूलाई मात्र शिविरमा बोलाइएको थियो। “निःशुल्क शिविर हुँदा स्वस्थ व्यक्तिहरू पनि जाँचका लागि आउने भएकाले वास्तविक बिरामीले पालो नपाउने अवस्था आउन सक्छ,” उनले भने, “त्यसैले यसपटक लक्षण देखिएका व्यक्तिहरूलाई मात्र लक्षित गरी स्क्रिनिङ गरिएको हो।”

तीनवटै स्वास्थ्य केन्द्रमा सञ्चालन गरिएको शिविरमार्फत कुल ४६२ जनाको एआई जडित एक्स–रे मेसिनबाट छातीको परीक्षण गरिएको थियो। जसमध्ये ६१ जना बढी शंकास्पद देखिएकाहरूको थप परीक्षणका लागि खकारको नमुना संकलन गरिएको छ।