
हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशको हिमाली क्षेत्रका साथै कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी स्थानमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमानअनुसार आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहनेछ। कुनै पनि प्रदेशमा उल्लेखनीय वर्षा वा मौसमी गतिविधिको सम्भावना नरहेको जनाइएको छ।
त्यस्तै, आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा आंशिक बादल लाग्ने सम्भावना रहेको छ। बाँकी प्रदेशमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
यसैगरी, बुधबार देशको हिमाली भूभागका साथै कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। देशका अन्य भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेकाले मौसम सामान्यतया स्थिर रहने देखिएको छ।




























