
डडेल्धुराः सुदूरपश्चिमको प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा आज परम्परागत ‘दिउसेडी’ मेला लाग्दैछ। उग्रतारा क्षेत्र विकास समितिका अनुसार हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको अवसरमा लाग्ने यस मेलामा सुदूरपश्चिमसहित विभिन्न क्षेत्रबाट भक्तजन आउने गरेका छन्।

स्थानीय भाषामा ‘देहिजाँत’ भनिने यो मेला कात्तिक शुक्ल पूर्णिमाको राति र भोलिपल्ट गरी दुई दिन लाग्ने गर्दछ। राति लाग्ने मेलालाई ‘रतेडी’ र दिनमा लाग्ने मेलालाई ‘दिउसेडी’ भन्ने गरिन्छ।
अमरगढी नगरपालिका–८ स्थित उग्रतारा भगवती मन्दिरमा खनमडा, छचोडा, दुमडा र जिलोडा गाउँका बासिन्दाले परम्परागत रूपमा पूजा गरेपछि मेला सुरु हुने उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले जानकारी दिए।
मेलामा सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लासहित छिमेकी भारतबाट समेत हजारौँ श्रद्धालु सहभागी हुने गर्छन्। डडेल्धुरा सदरमुकामबाट करिब चार किलोमिटर टाढा सुन्दर डाँडामा अवस्थित मन्दिरमा भक्तजनले देवीको दर्शन तथा पूजाआराधना गर्ने परम्परा छ।
किंवदन्तीअनुसार परापूर्वकालमा स्थानीय साकी जातिका एक किसानले हलो जोत्ने क्रममा शिलामा चोट लाग्दा रगत बगेको थियो। त्यसपछि किसानले आफूसँग रहेको खिचडी चढाउँदा रगत बग्न रोकिएको र देवी प्रकट भएको जनविश्वास छ। सोही घटनापछि मन्दिर स्थापना गरी प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमामा पूजा तथा मेला लगाउने परम्परा सुरु भएको मानिन्छ।
धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यो मेला स्थानीय उत्पादनको बिक्री, प्रवर्द्धन र व्यापारिक गतिविधिका लागि समेत परिचित छ। मेलालाई लक्षित गर्दै अमरगढी नगरपालिकाले आज सार्वजनिक बिदासमेत दिएको छ।




























