
कैलाली जिल्लामा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि छनोट भएका ३ हजार ५७६ जनालाई तालिम दिन प्रक्रिया सुरु गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसएसपी नरेन्द्र चन्दका अनुसार तालिम आइतबारबाट विभिन्न स्थानमा सुरु भएको हो। प्रशिक्षण १० दिनसम्म चल्ने र आधारभूत सुरक्षा, भीड नियन्त्रण, मतदानस्थल सुरक्षा, आपतकालीन प्रतिकार्य र निर्वाचन आचारसंहितासम्बन्धी व्यवहारिक अभ्यासमा केन्द्रित हुनेछ।

तालिम जिल्लाभरका ११ स्थानमा सञ्चालन भइरहेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीमा ६२४ पुरुष, ६३२ महिला र ८ वैकल्पिक उम्मेदवार गरी १,२६४ जनालाई तालिम दिइँदैछ। इलाका प्रहरी कार्यालय हसुलियामा २०५, फुलबारीमा १५१, टिकापुरमा ३०७, सुखडमा ३१९ र मालाखेतीमा ३६२ जनालाई तालिम प्रदान भइरहेको छ।
त्यस्तै, लम्कीमा २१०, भजनीमा २७६, सडकपुरमा १४६, चौमाला १९४ र मसुरीयामा १४१ जनाले प्रशिक्षण लिइरहेका छन्। ३४ जना अनुपस्थित भएकाले वैकल्पिक उम्मेदवारलाई तालिममा समावेश गरिएको छ।


प्रशिक्षणका क्रममा मतदानस्थलको सुरक्षा व्यवस्थापन, शंकास्पद गतिविधि पहिचान, मोबाइल गस्ती र मतदाता तथा कर्मचारीको सुरक्षामा कसरी खटिने भन्ने विषयमा विशेष अभ्यास गराइन्छ। तालिम पूरा भएपछि उनीहरू जिल्लाका विभिन्न मतदान केन्द्र र संवेदनशील क्षेत्रमा परिचालन गरिनेछ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमल्सिनाले बताएअनुसार, यस तालिमले निर्वाचनको सुरक्षात्मक तयारी मजबुत पार्नेछ र मतदान प्रक्रियामा व्यवधान आउन नदिने उद्देश्य राखिएको छ।
































