
कैलालीको अत्तरियामा मोटरसाइकलको ठक्करबाट एक साइकलयात्रीको ज्यान गएको छ। बिहीबार मध्यान्ह साढे १२ बजे धनगढीबाट अत्तरियातर्फ आउँदै गरेको सुप प्र ०१–०११ प ८५८५ नम्बरको मोटरसाइकलले गोदावरी नगरपालिका–१ स्थित पाठक पेट्रोलपम्प नजिकको धनगढी–अत्तरिया ६ लेन सडकखण्डमा साइकलयात्रीलाई ठक्कर दिएको हो।

दुर्घटनामा कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का गोपाल राना गम्भीर घाइते भएका थिए। उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएका रानाको दिउँसो साढे १ बजे उपचारकै क्रममा मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक धनगढी–५ का अन्दाजी २३ वर्षीय नबलु राना र मोटरसाइकलमा सवार कृष्णपुर–६ का २३ वर्षीय मनुराज राना पनि घाइते भएका छन्। उनीहरूको अवस्था मध्यम रहेको र अत्तरियास्थित निर्सग अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनापछि मोटरसाइकललाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको छ।
































