अतरियामा महिला–बालबालिका सेभ हाउसमा श्रीमद् भागवत महायज्ञका लागि तयारी हुदै, अक्षय कोष स्थापना उद्देश्य

Image
Nisarga Hospital

कैलालीको अतरिया स्थित महिला तथा बालबालिका सेभ हाउसमा यही माघ २६ गतेदेखि सञ्चालन हुने श्रीमद् भागवत महायज्ञको औपचारिक सुरुवात शुक्रबार मौलो पूजासँगै सम्पन्न भएको छ। महायज्ञको मुख्य उद्देश्य आश्रित अनाथ तथा असहाय बालबालिकाहरूको दीर्घकालीन पालनपोषणका लागि अक्षय कोष स्थापना गर्नु रहेको छ।

CP Hospital Dhangadhi

महायज्ञ मूल आयोजक समितिका संयोजक पदमराज जोशीका अनुसार, सेभ हाउसमा बालबालिकाको हेरचाहमा बेला–बेला आर्थिक चुनौती आउँछ, त्यसैले स्थायी आर्थिक स्रोत जुटाउन यस महायज्ञ आयोजना गरिएको हो। संस्थाकी अध्यक्ष जानकी मलासीले संस्थाको आफ्नै भवन नहुँदा सेवा सञ्चालनमा कठिनाइ भइरहेको बताउँदै भवन निर्माणका लागि पनि स्रोत संकलनको उद्देश्य रहेको जानकारी दिइन्।

माघ २६ गते शोभा (कलश) यात्रा निकालिने कार्यक्रम रहेको छ भने माघ २७ गतेदेखि फागुन ३ गतेसम्म पूजा–पाठ, कथा प्रवचन, महात्म्य र साँझमा सिंगारिक महाआरती आयोजना गरिनेछ। कथा प्रवचन सुमि मानवसहितको समूहले गर्नेछ भने मुख्य पाठ, यज्ञ र पूजा उपवाचक जनार्दन प्रसाद पन्तले सम्पन्न गर्नेछन्।

महायज्ञ अवधिभर अन्नदान, मुठीदान, तुलादान, व्रतबन्ध तथा विवाहजस्ता विभिन्न धार्मिक कार्यक्रमहरू पनि सञ्चालन गरिने छन्। हाल ४० भन्दा बढी बालबालिका आश्रित रहेका छन् र भवनको अभावमा पद्मा अस्पतालको सहयोगमा सेवा दिइँदै आएको छ।