
बैतडीमा गएको बस दुर्घटनामा घाइते भएका पाँच जनाको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि घाइतेहरूलाई तत्काल उद्धार गरी डडेल्धुरामा प्राथमिक उपचार गरिएको थियो र थप उपचारका लागि पाँच जनालाई धनगढी रिफर गरिएको हो।

निसर्ग अस्पतालद्वारा जारी प्रेस विज्ञप्तिअनुसार घाइतेमा बझाङको बित्थडचिर गाउँपालिका–७ का ६० वर्षीय नन्दलाल कोइराला, बझाङ बित्थडचिर–७ का वीरबहादुर धामी, बझाङका १३ वर्षीय प्रतिक जोशी, १६ वर्षीया प्रतिभा जोशी र बैतडी पर्चौडी–७ का २० वर्षीय कमलप्रसाद जोशी रहेका छन्।

अस्पताल स्रोतका अनुसार घाइतेमध्ये केहीको अवस्था सामान्य छ भने केहीको शल्यक्रिया र विशेष निगरानीमा उपचार भइरहेको छ। टाउकोमा गम्भीर चोट लागेका ६० वर्षीय नन्दलाल कोइरालाको अवस्था चिन्ताजनक छ र उनी आईसीयूमा उपचाररत छन्। अन्य घाइतेहरू सर्जिकल वार्डमा राखिएका छन्।

अस्पतालले घाइतेहरूको उपचारका लागि आवश्यक सबै स्वास्थ्य सेवा उपलब्ध गराएको बताउँदै चिकित्सक र स्वास्थ्यकर्मीको टोली चौबीसै घण्टा खटिएको जानकारी दिएको छ। उद्धार, प्राथमिक उपचार र थप उपचारको समन्वयमा स्थानीय प्रशासन र स्वास्थ्यकर्मीहरू सक्रिय रहेका छन्।
































