बझाङमा फागुन ४ देखि एचपिभी खोप अभियान, २ हजार ४ सयभन्दा बढी किशोरी लक्षित

Image
Nisarga Hospital

बझाङ जिल्लामा पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने एचपिभी खोप आगामी फागुन ४ गतेदेखि सञ्चालन हुने भएको छ। स्वास्थ्य कार्यालय बझाङका अनुसार यस अभियानअन्तर्गत जिल्लाभरिका २ हजार ४ सय ९६ जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ। खोप कक्षा ६ मा अध्ययनरत २ हजार ४ सय ३६ जना छात्रा तथा विद्यालय बाहिर रहेका ६० जना किशोरीलाई दिइनेछ।

CP Hospital Dhangadhi

स्वास्थ्य कार्यालय बझाङका निमित्त कार्यालय प्रमुख भानुभक्त जोशीका अनुसार अभियान जिल्लाका १२ वटै स्थानीय तहमा एकैसाथ सञ्चालन हुनेछ। खोपका लागि १५५ विद्यालयलाई खोप केन्द्र तोकिएको छ, जहाँ स्वास्थ्यकर्मीको टोली खटाइनेछ।

यस वर्षको अभियानमा गत वर्ष एचपिभी खोपबाट छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि समेटिएको छ। जनस्वास्थ्य निरीक्षक दीपक ऐडिका अनुसार सबै स्थानीय तहले आ–आफ्नो पालिकामा आवश्यक तयारी पूरा गरिसकेका छन्।

nawajiwan

Attariya Hospital

गत वर्ष अभियानका रूपमा सञ्चालन गरिएको एचपिभी खोप यस वर्षदेखि नियमित खोप कार्यक्रममा समावेश गरिएको हो। जिल्ला अस्पताल बझाङका प्रमुख डा. सन्दीप ओखेडाले एचपिभी खोप पूर्ण रूपमा सुरक्षित रहेको उल्लेख गर्दै निर्धक्क रूपमा खोप लगाउन आग्रह गर्नुभयो। साथै सीमित मात्रामा खोप उपलब्ध भएकाले खेर नजाने गरी प्रभावकारी रूपमा सञ्चालन गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभएको छ।

जिल्ला समन्वय समिति बझाङका प्रमुख नरबहादुर बोहराको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरी, सुरक्षा निकाय, शिक्षा तथा समन्वय इकाइका प्रतिनिधि लगायत सरोकारवालाको सहभागिता रहेको थियो।

नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण बर्सेनि धेरै महिलाले ज्यान गुमाउनुपर्ने अवस्थालाई मध्यनजर गर्दै, प्रारम्भिक किशोरावस्थामै एचपिभी खोप लगाउँदा रोग रोकथाममा अत्यन्त प्रभावकारी हुने स्वास्थ्य कार्यालयले जनाएको छ।