
अत्तरिया: नेपाली कांग्रेसका पाँच पटकका प्रधानमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवा फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा मतदान नगर्ने भएका छन्। पार्टीको विशेष महाधिवेशनपछि सभापति पद गुमाएका देउवा निर्वाचन आयोगले आधिकारिकता नदिएपछि र सर्वोच्च अदालतको अन्तरिम आदेश नपाएपछि अन्ततः चुनावी प्रक्रियाबाट बाहिर रहन बाध्य भएका हुन्।

पूर्व सभापति देउवाले पार्टीका उम्मेदवारलाई जिताउन सहयोग गर्ने अपिल सार्वजनिक गर्ने प्रयास पनि असफल भएको छ। कांग्रेस प्रवक्ता देवराज चालिसे का अनुसार देउवालाई अभियानमा सामेल गराउने प्रयास भइरहेका भए पनि उनका सचिवालयले स्पष्ट पारेको छ कि उनी प्रचार वा भेटघाटमा सहभागी हुने छैनन्।
स्रोतका अनुसार, पार्टीभित्रका केही नेताहरूले ‘बदलिएको कांग्रेस, बदल्छौं देश’ भन्ने नारा अघि बढाउँदै देउवाको अनुहार प्रयोग गरेर चुनावमा प्रभाव पार्न खोजेका छन्। तर देउवाले चुपचाप सबै विवाद सहँदै रणनीतिक रूपमा दूरी कायम गरेका छन्।


डडेलधुराबाट २०४८ देखि लगातार सात चुनावमा कांग्रेसको उम्मेदवार भएर जितेका देउवा यसपटक अन्तिम चुनावमा मैदानमा नउत्रिँदा उनीनिकटकै युवा नेता नैनसिंह महर ले टिकट पाएका छन्। महरले देउवाको फोटो प्रयोग गरी प्रचार गरिरहेका छन्।
जिल्ला सभापति भिम साउद लगायतले देउवालाई डडेलधुरामा ल्याउने प्रयास असफल भएको छ। स्वास्थ्य र सुरक्षाका कारण देउवा मतदानका लागि डडेलधुरामा उपस्थित नहुने सम्भावना उच्च छ। फागुन २१ पछि कांग्रेसमा निर्णायक लडाइँ सुरु हुने र कानूनी तथा राजनीतिक मोर्चाबाट साबिक संस्थापन पक्षका शीर्ष नेताहरू रणनीति निर्माणमा व्यस्त रहेको राजनीतिक विश्लेषकहरूको दाबी छ।
































