
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ। गोरखा–१ र इलाम–१ को मतगणना सकिएसँगै समानुपातिकतर्फ पनि सबै मतगणना सकिएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिएका छन्। उनका अनुसार निर्वाचन अधिकृतका कार्यालयबाट विस्तृत विवरण आयोगमा आउने क्रम अझै जारी छ।

मतगणना सम्पन्न भएसँगै दलहरूले पाउने समानुपातिक सिट निर्धारणको प्रक्रिया पनि सुरु भएको आयोगले जनाएको छ। आयोगका अनुसार केही दिनभित्रै सिट बाँडफाँटको प्रक्रिया पूर्ण हुनेछ।

आज बिहान ११ बजेसम्म गणना गरिएको मतअनुसार समानुपातिकतर्फ एक करोड ७ लाख ३९ हजार ११५ मत गणना भएको छ। जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ५१ लाख ३९ हजार २३५ मतसहित अग्रस्थानमा छ। नेपाली कांग्रेसले १७ लाख ४९ हजार ५८३, नेकपा (एमाले) ले १४ लाख ४८ हजार ८५४, नेपाली कम्युनिस्ट पार्टीले ८ लाख ५ हजार ७७३, श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ६४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २९ हजार ४७२ मत प्राप्त गरेका छन्।

मतपरिणामका आधारमा समानुपातिकतर्फ ६ दलले सिट पाउने देखिएको छ। सिट बाँडफाँटअनुसार रास्वपाले ५७ सिट, नेपाली कांग्रेसले २०, एमालेले १६, नेकपा (माओवादी) ले ९ तथा श्रम संस्कृति पार्टी र राप्रपाले ४–४ सिट पाउनेछन्। प्रत्यक्षतर्फको सिट जोड्दा रास्वपाको कुल सिट संख्या १८२ पुग्नेछ, जुन दुई तिहाइ बहुमतभन्दा २ सिट कम हो।































