
माननीय शिक्षा तथा खेलकुद मन्त्रीज्यू मिति २०८३/०२/०४
शिक्षा तथा खेलकुद मन्त्रालय

विषय: प्रधानाध्यापक बलदेव सिंह धामीलाई आत्महत्या गर्न बाध्य बनाउने घटनाको निष्पक्ष छानबिन तथा दोषीमाथि कडा कार्वाही गरिपाऊँ सम्बन्धमा ध्यानाकर्षण पत्र।
महोदय,
दार्चुला जिल्लाको श्री सम्पाल माध्यमिक विद्यालय का प्रधानाध्यापक स्वर्गीय बलदेव सिंह धामी शिक्षा क्षेत्रका एक मेहनती, इमानदार तथा विद्यालय विकासमा समर्पित व्यक्तित्व हुनुहुन्थ्यो। उहाँले विद्यालयको भौतिक, शैक्षिक तथा प्रशासनिक सुधारका लागि महत्वपूर्ण योगदान पुर्याई विद्यालयलाई नमुना विद्यालयको रूपमा विकास गर्ने कार्य गर्नुभएको थियो।

तर उहाँमाथि योजनाबद्ध रूपमा मानसिक दबाब, चरित्र हत्या, सामाजिक अपमान, झुटा आरोप तथा निरन्तर मानसिक प्रताडना गरिएको घटनाक्रम सार्वजनिक भएको छ। उक्त अमानवीय गतिविधिका कारण उहाँले आत्महत्या गर्न बाध्य भएको स्पष्ट देखिन्छ।
स्वर्गीय धामीले आत्महत्यापूर्व सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको लामो वक्तव्यमा आफूलाई मानसिक रूपमा प्रताडित गर्ने, बदनाम गर्ने तथा आत्महत्या गर्न बाध्य बनाउने व्यक्तिहरूको नाम, पद तथा फोन नम्बरसमेत स्पष्ट रूपमा उल्लेख गर्नुभएको छ। यसले घटनालाई अझ गम्भीर तथा संवेदनशील बनाएको छ। त्यसैले उक्त विवरण, फोन कल डिटेल, सामाजिक सञ्जाल सामग्री तथा अन्य प्रमाणहरूको गम्भीर र वैज्ञानिक अनुसन्धान अपरिहार्य देखिन्छ।

अतः यहाँसमक्ष देहायबमोजिम माग गर्दछु।
१. स्वर्गीय प्रधानाध्यापक बलदेव सिंह धामीलाई आत्महत्या गर्न बाध्य बनाउने घटनाको उच्चस्तरीय तथा निष्पक्ष छानबिन गरियोस्।
२. उहाँले सामाजिक सञ्जालमा उल्लेख गरेका व्यक्तिहरूमाथि निष्पक्ष अनुसन्धान गरी दोषी प्रमाणित भए कानुनबमोजिम हदैसम्मको कारबाही गरियोस्।
३. घटनासँग सम्बन्धित फोन कल डिटेल, फेसबुक/म्यासेन्जर संवाद तथा अन्य डिजिटल प्रमाणहरूको वैज्ञानिक अनुसन्धान गरियोस्।
४. पीडित परिवारलाई न्यायिक, कानुनी तथा आवश्यक राहत उपलब्ध गराइयोस्।
५. भविष्यमा यस्ता घटना दोहोरिन नदिन शिक्षक तथा प्रधानाध्यापकहरूको पेशागत सुरक्षा र आत्मसम्मान संरक्षणका लागि प्रभावकारी व्यवस्था लागू गरियोस्।
सत्य तथ्य बाहिर ल्याई पीडित परिवारलाई न्याय दिलाउन नेपाल सरकार गम्भीरतापूर्वक अघि बढ्ने विश्वास व्यक्त गर्दछु।
भवदीय,
नाम: कृष्ण सिंह धामी
ठेगाना: मालिकार्जुन-२ भगवती , दार्चुला
विद्यालय : श्री रानीस्थान अावि सिराड ,दार्चुला
मिति: २०८३/०२/०३
हस्ताक्षर: …………………..































