
सुदूरपश्चिमका पहाडहरू सधैं मौन देखिन्छन्। टाढाबाट हेर्दा ती केवल हरिया डाँडाहरू जस्ता लाग्छन्, तर नजिक पुगेर हेर्ने हो भने प्रत्येक पहाडभित्र एउटा कथा लुकेको हुन्छ। कतै अधुरा सपनाहरूको कथा, कतै गरिबीले च्यातेका जिन्दगीहरूको कथा, कतै राज्यको उपेक्षाले थलिएका गाउँहरूको कथा। त्यहाँका खोला केवल पानी बगाउँदैनन्, मानिसका पीडा पनि बगाउँछन्। त्यहाँका बाटाहरू केवल यात्रुका पाइला मात्र सम्झिँदैनन्, संघर्षका थकित निशानहरू पनि सम्झिरहन्छन्।

त्यही पहाडहरूको काखमा एउटा सानो गाउँ थियो। गाउँभन्दा केही माथि, भीरको किनारमा एउटा पुरानो क्याम्पस उभिएको थियो। वर्षौँअघि गाउँलेहरूले चन्दा उठाएर बनाएको त्यो क्याम्पस अहिले राजनीतिक झण्डाहरूको छायाँमा थाकिसकेको थियो। टिनको छाना वर्षाले चुहिन्थ्यो। भित्ताहरूमा पुराना नारा र चुनावी पोस्टर टाँसिएका थिए। कक्षाकोठाका बेन्चहरू चर्किएका थिए। तर त्यही जीर्ण भवनभित्र सयौँ गरीब विद्यार्थीका सपना पलाइरहेका थिए।
त्यही क्याम्पसमा पढाउँथे, विवेक थापा ।

सबैले उनलाई “विवेक सर” भनेर बोलाउँथे।
उनको अनुहार सधैं शान्त देखिन्थ्यो। बोलाइमा नम्रता थियो। आँखा गहिरा थिए, मानौँ ती आँखाले धेरै पीडा देखिसकेका थिए। सत्र वर्षदेखि उनी त्यही क्याम्पसमा नेपाली विषय पढाउँदै आएका थिए। शहरमा जागिर खाने अवसर उनीसँग पनि थियो, तर उनले गाउँ रोजेका थिए। उनलाई लाग्थ्यो, “शिक्षा शहरका लागि मात्र होइन, उज्यालो नपुगेका ठाउँका लागि बढी आवश्यक हुन्छ।”
जब उनी पहिलोपटक क्याम्पस पुगेका थिए, उनीभित्र असाध्यै ठूलो उत्साह थियो। उनी गाउँगाउँ हिँडेर विद्यार्थी भर्ना गराउँथे। गरीब विद्यार्थीको शुल्क आफैं तिर्थे। कतिपटक आफ्नै तलबबाट किताब किनेर दिएका थिए। उनले शिक्षणलाई केवल पेशा होइन, धर्म मानेका थिए।
तर समय बित्दै जाँदा उनले देख्न थाले, शिक्षाभन्दा ठूलो शक्ति राजनीति रहेछ नेपालमा।
क्याम्पसमा राजनीतिक दलनिकट प्राध्यापक संघ, कर्मचारी संगठन र विद्यार्थी संगठनको प्रभाव अत्यन्त गहिरो थियो। नियुक्तिदेखि बढुवासम्म, छात्रवृत्तिदेखि प्रशासनिक निर्णयसम्म सबै कुरा भागबण्डामा चल्थ्यो। जसले नेताको घर धायो, उसले अवसर पायो। जसले चाकडी गर्यो, उसले सम्मान पायो। जसले प्रश्न उठायो, ऊ समस्याको रूपमा चिनियो।
विवेक सर भने कसैको झोला बोकेनन्। कुनै दलको झण्डा समातेनन्। यही कारण उनी बिस्तारै सबैका आँखामा “अप्रिय” बन्न थाले।
त्यो बिहान पनि उनी पुरानो झोला बोकेर क्याम्पसतिर उकालो चढिरहेका थिए। रातभर परेको वर्षाले बाटो चिप्लिएको थियो। तल खोला उर्लिरहेको थियो। कुहिरोले पूरै पहाड ढाकेको थियो। उनी हिँड्दै गर्दा जुत्ताको पुरानो चिराबाट पानी पसिरहेको थियो। तर उनी त्यसको वास्ता गरिरहेका थिएनन्। उनको मनमा त अरू धेरै चिसा कुराहरू थिए।
क्याम्पस पुगेपछि स्टाफ रूममा अस्वाभाविक मौनता थियो। केही प्राध्यापकहरू कुनातिर बसेर बिस्तारै कुरा गरिरहेका थिए। विवेक सर भित्र पस्नेबित्तिकै आवाजहरू रोकिए।
त्यो मौनता उनी धेरै वर्षदेखि सहँदै आएका थिए।
उनको टेबलमाथि एउटा पत्र राखिएको थियो।
“स्पष्टीकरण पेश गर्ने सम्बन्धमा…”
उनले काँपिरहेको हातले पत्र उठाए।
पत्रमा लेखिएको थियो कि उनले क्याम्पस प्रशासनविरुद्ध गतिविधि गरेको, विद्यार्थीलाई उक्साएको, र संगठनको निर्णय अवज्ञा गरेको आरोप लागेको छ।
उनले लामो समयसम्म त्यो कागज हेरे।
त्यो क्षण उनलाई आफ्नै इमान्दार जीवन अपराधजस्तो लाग्यो।
केही दिनअघि मात्रै बैठकमा उनले भनेका थिए,
“योग्यता र नैतिकताको आधारमा निर्णय हुनुपर्छ। राजनीतिक भागबण्डाले शिक्षालाई नष्ट गरिरहेको छ।”
त्यो एउटा वाक्यले धेरै मानिसको स्वार्थमा चोट पुगेको थियो।
क्याम्पस प्रमुख, जो जिल्लाको शक्तिशाली नेताका निकट थिए, त्यही दिनदेखि उनीसँग रिसाएका थिए। कर्मचारी संघ, प्राध्यापक संगठन र विद्यार्थी नेताहरूले पनि उनलाई “अहंकारी” भन्न थालेका थिए।
दिउँसो उनी कक्षामा पुगे। विद्यार्थीहरू उठेर अभिवादन गरे। त्यो सम्मान नै उनको जीवनको सबैभन्दा ठूलो सम्पत्ति थियो।
त्यो दिन उनले एउटा कविता पढाइरहेका थिए।
“अँध्यारोले उज्यालोलाई केही समय ढाक्न सक्छ, हराउन सक्दैन…”
कविता पढ्दै गर्दा उनको आवाज काँप्यो।
कक्षामा अस्वाभाविक मौनता छायो। विद्यार्थीहरूले महसुस गरे, आज सर केवल कविता पढाइरहेका छैनन्, आफ्नै जीवन बोलिरहेका छन्।
कक्षा सकिएपछि छात्रा निर्मलाले बिस्तारै सोधी,
“सर… तपाईंलाई किन यति धेरै दुःख दिन्छन्?”
विवेक सर मुस्कुराउने प्रयास गर्दै बोले,
“छोरी… सत्य बोल्ने मानिसहरू धेरैपटक एक्ला हुन्छन्।”
त्यो उत्तर दिँदा उनको आँखाभित्र गहिरो थकान थियो।
साँझ घर फर्किँदा पानी पर्न थालिसकेको थियो। भीरको साँघुरो बाटो हुँदै उनी बिस्तारै तल झरिरहेका थिए। तल खोला गर्जिरहेको थियो। माथि बादल गडगडाइरहेका थिए। उनलाई आफ्नो जीवन पनि यही मौसमजस्तो लागिरहेको थियो, निरन्तर अँध्यारोले भरिएको।
घर पुग्दा उनकी वृद्ध आमा आँगनमा दाउरा ताप्दै बसिरहेकी थिइन्।
“बाबु, आज फेरि ढिला भयो?”
“काम थियो आमा…”
आमाले छोराको अनुहार नियालिन्। मोतिबिन्दुले धमिलो आँखाले पनि उनले पीडा देख्न सक्थिन्।
“फेरि क्याम्पसमा केही भयो?”
विवेक सर चुप लागे।
भित्र उनकी श्रीमती मञ्जु चुल्होमा खाना पकाउँदै थिइन्। धुवाँले उनको आँखा रातो भएको थियो। वर्षौँदेखि अभावसँग लड्दा उनको अनुहार समयभन्दा चाँडै बूढो देखिन थालेको थियो।
तर उनले कहिल्यै गुनासो गरिनन्।
राति खाना खाइरहँदा छोराले बिस्तारै भन्यो,
“बाबा… स्कूलमा सबै साथीले नयाँ जुत्ता लगाएका छन्…”
विवेक सरको हात रोकियो।
उनले छोराको टाउको मुसार्दै भने,
“अर्को महिनामा किनिदिन्छु बाबु…”
तर उनलाई थाहा थियो, त्यो अर्को महिना फेरि कुनै नयाँ समस्याले खाइदिनेछ।
त्यो रात उनी सुत्न सकेनन्।
बाहिर वर्षा परिरहेको थियो। टिनको छानामा पानीका थोपाहरू बजिरहेका थिए। छेउको कोठामा उनका बुबा लगातार खोकीरहेका थिए।
विवेक सर अँध्यारोमा छत हेर्दै सोचिरहेका थिए,
“के इमानदार भएर बाँच्नु नै गल्ती हो?”
उनी सम्झिरहेका थिए, जब उनी पहिलोपटक यो गाउँ आएका थिए। आँखामा सपना थियो। गाउँका विद्यार्थीलाई शिक्षित बनाउने उत्साह थियो। उनले कहिल्यै कल्पना गरेका थिएनन् कि एकदिन यही क्याम्पसले उनलाई एक्लो बनाउनेछ।
समय बित्दै गयो।
क्याम्पसमा उनीमाथि षड्यन्त्र बढ्दै गयो।
उनीमाथि अफवाह फैलाइयो।
“विपक्षी दलको मान्छे रहेछ…”
“विद्यार्थीलाई उक्साउँछ…”
“प्रशासनविरोधी शिक्षक…”
बिस्तारै सहकर्मीहरू टाढा भए। स्टाफ रूममा उनी पस्दा कुरा बन्द हुन्थे।

तर विद्यार्थीहरूको सम्मान भने झन् बढ्दै गयो।
एक दिन विद्यार्थी रमेशले रुँदै भन्यो,
“सर, तपाईं जस्तो शिक्षक हार्न मिल्दैन।”
त्यो वाक्य सुन्दा विवेक सरको मन काँप्यो।
तर जीवनले अझै कठिन परीक्षा बाँकी राखेको थियो।
उनका बुबा गम्भीर बिरामी भए। उपचारका लागि पैसा थिएन। उनले धेरैसँग सहयोग मागे। तर जसलाई उनले वर्षौँसम्म साथ दिएका थिए, तिनै मानिसहरूले बहाना बनाए।
एक रात अस्पतालको बेडमा बुबाले हात समाउँदै भने,
“बाबु… दुःखले राम्रो मान्छेलाई कमजोर बनाउँदैन… बलियो बनाउँछ…”
त्यो वाक्य सुनेर विवेक सर रोए।
केही दिनपछि बुबाको मृत्यु भयो।
त्यो दिन उनलाई लाग्यो, उनीभित्रको एउटा संसार नै समाप्त भयो।
तर पीडा यतिमै रोकिएन।
क्याम्पसमा उनीमाथि आर्थिक अनियमितताको झुटा आरोप लगाइयो। छानबिन समिति बनाइयो। गाउँभरि हल्ला फैलियो।
उनका छोराछोरी स्कूलमा अपमानित भए।
मञ्जु धेरै रात चुपचाप रोइन्।
एक रात उनले श्रीमानको हात समाउँदै भनिन्,
“हामी एक्ला छौँ… तर गलत छैनौँ। एकदिन सत्यको पनि आवाज सुनिन्छ।”
त्यो वाक्य विवेक सरको मनभित्र आशाको सानो दियो बन्यो।
बिस्तारै परिस्थिति बदलिन थाल्यो।
उनका पुराना विद्यार्थीहरू, जो देशका विभिन्न ठाउँमा थिए, बिस्तारै उनको पक्षमा बोल्न थाले। कसैले समाचार लेख्यो। कसैले सामाजिक सञ्जालमा उनको संघर्ष सुनायो। कसैले कानुनी सहयोग गर्यो।
बिस्तारै सत्य बाहिर आउन थाल्यो।
छानबिनमा सबै आरोप झुटा प्रमाणित भए।
क्याम्पस प्रशासन दबाबमा पर्यो।
जिल्लाभरि चर्चा हुन थाल्यो,
“विवेक सरमाथि त ठूलो अन्याय भएको रहेछ…”
त्यो दिन क्याम्पसमा विद्यार्थीहरूले पहिलोपटक खुलेर आवाज उठाए।
“योग्य शिक्षकलाई न्याय देऊ!”
विवेक सर स्तब्ध थिए।
जसलाई सबैले कमजोर ठानेका थिए, त्यही मौन शिक्षकको पक्षमा अब सयौँ आवाज उठिरहेका थिए।
विश्वविद्यालयबाट विशेष टोली आयो। अनुसन्धान भयो। क्याम्पसको राजनीतिक हस्तक्षेप र भ्रष्टाचारका धेरै तथ्य बाहिरिए।
क्याम्पस प्रमुख हटाइए।
राजनीतिक भागबण्डाका धेरै निर्णय खारेज भए।
विवेक सरलाई औपचारिक रूपमा सम्मान गरियो।
त्यो दिन क्याम्पसमा विशेष कार्यक्रम आयोजना भयो। पहाडमाथि बिहानको घाम फैलिएको थियो। वर्षौँपछि त्यो क्याम्पस उज्यालो देखिएको थियो।
विद्यार्थीहरूले फूल लिएर उनलाई स्वागत गरे।
उनकी आमा रोइरहेकी थिइन्।
मञ्जुको आँखामा गर्व चम्किरहेको थियो।
छोराले नयाँ जुत्ता लगाएको थियो।
विवेक सर मञ्चमा उभिए।
उनले केहीबेर मौन भएर वरिपरिका पहाडहरू हेरे।
त्यही पहाड, जसले उनको आँसु देखेका थिए।
त्यही बाटो, जहाँ उनी अपमान बोकेर हिँडेका थिए।
त्यही क्याम्पस, जहाँ उनले आफ्नो जवानी जलाएका थिए।
उनको आवाज बिस्तारै गुञ्जियो,
“इमानदार मानिस तुरुन्त जित्दैन। उसलाई धेरैपटक तोड्ने प्रयास गरिन्छ। उसलाई अपमानित गरिन्छ। तर यदि ऊ सत्यबाट हट्दैन भने, अन्ततः समय स्वयं उसको पक्षमा उभिन्छ।”
पूरै हल तालीले गुञ्जियो।
विद्यार्थीहरू रोइरहेका थिए।
धेरै सहकर्मीहरूले टाउको झुकाएका थिए।
विवेक सरको आँखामा आँसु थियो। तर त्यो आँसु अब हारको थिएन। त्यो सत्यले ढिलो भए पनि जितेको क्षणको आँसु थियो।
साँझ घर फर्किँदा पहाडमाथि सुनौलो घाम फैलिएको थियो।
मञ्जुले मुस्कुराउँदै सोधिन्,
“अब त खुशी हुनुहुन्छ?”
विवेक सर केहीबेर मौन भए।
त्यसपछि टाढा पहाडतिर हेर्दै बिस्तारै बोले,
“दुःखले मलाई धेरै रुवायो… तर त्यही दुःखले मलाई सत्यमा अडिग रहन सिकायो। ढिलो भयो… तर उज्यालो आयो।”
त्यो साँझ पहाडहरू असाध्यै सुन्दर देखिएका थिए।
सायद प्रकृतिले पनि अन्ततः एउटा इमानदार शिक्षकको जीतलाई स्वीकार गरिरहेको थियो।
✍️ चन्द्र सिंह धामी सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पसका सहायक प्राध्यापक हुन्।
































