
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको लम्कीचुहामा प्रादेशिक अस्पताल उद्घाटन गर्दै अब विवादभन्दा माथि उठेर नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन सबै पक्ष एकजुट हुनुपर्ने बताएका छन्। केही दिनदेखि अस्पतालको विषयलाई लिएर देखिएको तनावका बीच मुख्यमन्त्री शाहले संयमित र सकारात्मक सन्देश दिँदै अस्पताल सञ्चालनलाई प्राथमिकता दिन आग्रह गरेका हुन्।

बाक्लो सुरक्षा व्यवस्थाबीच आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले आफूले आजसम्म सुरक्षा निकाय प्रयोग नगरेको स्मरण गर्दै पछिल्ला गतिविधिका कारण सुरक्षा संयन्त्र आफैं सक्रिय भएको बताए। “आज पहिलो पटक मलाई मुख्यमन्त्री भएजस्तो महसुस भयो,” उनले भने, “तर यसलाई अन्यथा बुझ्न आवश्यक छैन, सबैभन्दा माथि आम नागरिक नै हुन्।”
मुख्यमन्त्री शाहले अब अस्पताललाई प्रभावकारी रूपमा सञ्चालन गर्नु नै सबैको साझा दायित्व भएको बताए। “हिजो के भयो भन्नेभन्दा अब अस्पताल कसरी राम्रोसँग चलाउने भन्ने विषय महत्वपूर्ण हो,” उनले भने, “प्रशासनिक निकायलाई बिना अवरोध काम गर्न दिऔं, यो समाधान हुने विषय हो।”


विउनले अस्पतालको विषयमा आफूले कुनै व्यक्तिगत स्वार्थ नराखेको स्पष्ट पार्दै प्रदेश सरकार नागरिकको स्वास्थ्य सेवाप्रति प्रतिबद्ध रहेको बताए। “मैले यहाँ एक जना कार्यालय सहयोगीसमेत सिफारिस गरेको छैन,” उनले भने, “सबैको रोजगारी सुनिश्चित गर्ने जिम्मेवारी प्रदेश सरकारको हो।”
मुख्यमन्त्री शाहले प्रदेश र स्थानीय सरकारबीच सहकार्य र संवाद आवश्यक रहेको उल्लेख गर्दै सुदूरपश्चिममा संवादको संस्कृति विकास गर्न आफूले निरन्तर प्रयास गरिरहेको बताए। “व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको हितमा काम गर्नुपर्छ,” उनले भने। उनले अझै पनि सबै पक्ष मिलेर अगाडि बढ्न सक्ने वातावरण रहेको उल्लेख गर्दै सकारात्मक भूमिका खेल्न स्थानीय जनप्रतिनिधि तथा नागरिकलाई आग्रह गरे। “अझै केही बिग्रिएको छैन, अब मिलेर अघि बढौं,” उनले भने।
मुख्यमन्त्री शाहले आधारभूत अस्पतालको संरचनाले ट्रमा सेन्टर सञ्चालन गर्न नसकिने भएकाले प्रादेशिक अस्पताल आवश्यक रहेको बताए। उनले अस्पतालका लागि यस वर्ष पनि बजेट विनियोजन गरिएको जानकारी दिँदै छिट्टै डायलासिस सेवा सञ्चालन गरिने घोषणा गरे। कार्यक्रममा उनले अस्पताल उद्घाटनसँगै अब यहाँ कार्यरत कर्मचारीलाई सुरक्षित र सहज वातावरणमा काम गर्ने वातावरण बनाउन आम नागरिकको सहयोग आवश्यक रहेको बताए। “यो अस्पताल जनताको हो, यसको सफल सञ्चालनका लागि सबैको साथ चाहिन्छ,” उनले भने।
































