
हाल देशभर मनसुनी वायु सक्रिय रहेकाले अधिकांश क्षेत्रमा वर्षाको क्रम जारी रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही माथि रहेकाले देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था कायम छ। अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाले आज दिउँसो देशभर अधिकांश स्थानमा बदली रहने र हिमाली, पहाडी तथा केही तराई क्षेत्रमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ। विशेषगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज राति पनि देशभर बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षा हुने तथा गण्डकी र लुम्बिनीका पहाडी क्षेत्र, साथै कोशी, गण्डकी र लुम्बिनीका केही तराई क्षेत्रमा भारी वर्षा हुन सक्ने भएकाले नदी–खोला आसपास र पहिरोको जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।




























