गोदावरी नगर गानका लागि रचना आह्वान, उत्कृष्ट सिर्जनालाई ७० हजार पुरस्कार

Image
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिकाले नगरको पहिचान, इतिहास, संस्कृति, सामाजिक विविधता तथा मौलिकतालाई समेट्ने गरी नगर गान तयार गर्ने प्रक्रिया अघि बढाएको छ। नगरपालिकाले नगर गान रचनाका लागि इच्छुक स्रष्टाबाट सिर्जना आह्वान गर्दै उत्कृष्ट नगर गानका रचयितालाई ७० हजार रुपैयाँ पुरस्कार दिने जनाएको छ।

CP Hospital Dhangadhi

नगरपालिकाले मंगलबार सूचना जारी गर्दै आगामी असोज २७ गतेभित्र नगर गान रचना गरी नगरपालिकाको इमेलमार्फत पठाउन आह्वान गरेको हो। प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीले जारी गरेको सूचनामा नगर गान तयार गर्दा नगरपालिकाले निर्धारण गरेको मापदण्डलाई आधार बनाउनुपर्ने उल्लेख छ।

नगर गान तयार गर्ने निर्णय नगरपालिकाको भदौ १८ गते बसेको १४५औँ कार्यपालिका बैठकले गरेको थियो। त्यसअघि नगरपालिकाले ‘गोदावरी नगर गान तयार गर्ने सम्बन्धी मापदण्ड, २०८२’ तयार गरिसकेको थियो। सोही मापदण्डका आधारमा नगर गान रचना गरी छनोट प्रक्रियामा सहभागी गराउन सूचना जारी गरिएको नगरपालिकाले जनाएको छ।

nawajiwan

मापदण्डअनुसार प्राप्त नगर गानको मूल्याङ्कन गर्न प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा चार सदस्यीय मूल्याङ्कन समिति गठन गरिनेछ। समितिमा संगीत विधाका एक जना विज्ञ, साहित्य/भाषाविज्ञान/समाजशास्त्र क्षेत्रका एक जना विज्ञ, नगरपालिकाको सामाजिक विकास समितिका संयोजक तथा शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृतस्तरका कर्मचारी सदस्य रहने व्यवस्था गरिएको छ।

Attariya Hospital

मूल्याङ्कनबाट उत्कृष्ट ठहरिएको नगर गानका रचयितालाई ७० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। यसपछि नगर गानका लागि उपयुक्त संगीत तयार गर्ने प्रक्रिया अघि बढाइने नगरपालिकाले जनाएको छ।

नगर गानका लागि उत्कृष्ट संगीतकार छनोट गर्न पनि छुट्टै व्यवस्था गरिएको छ। प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा दुई जना संगीत विधाका विज्ञ सदस्य रहेको समिति गठन गरी उत्कृष्ट संगीतकार छनोट गरिनेछ। छनोट भएका उत्कृष्ट संगीतकारलाई ८० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने सूचनामा उल्लेख छ।

नगर गानमार्फत गोदावरी नगरपालिकाको मौलिकता, सामाजिक तथा सांस्कृतिक पहिचान र नगरको समग्र भावनालाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने लक्ष्य नगरपालिकाले राखेको छ।