
अत्तरिया: ‘प्रतिभाको सम्मान, नृत्यको पहिचान’ भन्ने मूल नारासहित कैलालीको अत्तरियामा सञ्चालन भएको विद्यालयस्तरीय एकल नृत्य प्रतियोगिता ‘नृत्य मञ्च–२०८३’ को उपाधि गोदावरी पब्लिक स्कुलकी विद्यार्थी इशीका पूजाराले जितेकी छन्। शनिबार सम्पन्न प्रतियोगिताको ग्रान्ड फाइनलमा उत्कृष्ट नृत्य प्रस्तुत गर्दै पूजाराले उपाधि आफ्नो नाममा गरेकी हुन्।

उपाधिसँगै उनले नगद २० हजार १०५ रुपैयाँ र प्रमाणपत्र प्राप्त गरिन्। प्रतियोगितामा सत्यवती एकेडेमीकी विद्यार्थी रिजुम बीक द्वितीय भइन्। उनले नगद १५ हजार १०५ रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरिन्। त्यस्तै, पुष्पाञ्जलि आवासीय विद्यालयका विद्यार्थी प्रितम बोहरा तृतीय भए। उनले नगद १० हजार १०५ रुपैयाँ र प्रमाणपत्र प्राप्त गरे।
करिब दुई महिनादेखि सञ्चालन भइरहेको प्रतियोगितामा कैलाली र कञ्चनपुरका २४ विद्यालयका विद्यार्थीले सहभागिता जनाएका थिए। अडिसन, मेगा, कोरियोग्राफी, क्वार्टरफाइनल र सेमिफाइनललगायतका विभिन्न चरण पार गर्दै १२ जना प्रतिस्पर्धी ग्रान्ड फाइनलमा प्रवेश गरेका थिए। अन्तिम प्रतिस्पर्धामा सहभागी विद्यार्थीले आफ्नो नृत्यकला, सिर्जनात्मक क्षमता र प्रस्तुति कौशल प्रदर्शन गरेका थिए।
द डान्स सर्कल र गुरुकुल डान्स एन्ड फिटनेस स्टुडियोको संयुक्त आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो। विद्यालय तहमा लुकेर रहेका नृत्य प्रतिभाको पहिचान गर्दै उनीहरूलाई आफ्नो कला प्रस्तुत गर्ने अवसर प्रदान गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।
द डान्स सर्कलका सञ्चालक तथा नृत्य प्रशिक्षक लोकेश बोहराका अनुसार विद्यार्थीभित्र रहेको प्रतिभालाई उजागर गर्नुका साथै उनीहरूको आत्मविश्वास, सिर्जनात्मक क्षमता र व्यक्तित्व विकासमा सहयोग पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
प्रतियोगिताले विद्यार्थीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने मञ्च प्रदान गर्नुका साथै विद्यालयस्तरमै कला र संस्कृतिप्रति रुचि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। यस्ता कार्यक्रमले नयाँ प्रतिभालाई पहिचान गरी नृत्य क्षेत्रमा अघि बढ्न प्रेरित गर्ने आयोजकको विश्वास छ।































