धनगढीमा प्रवेश शुल्कको चर्चा निराधार, ठेकेदार भन्छन्- पार्किङ शुल्क मात्रै उठाइएको हो

Image
Nisarga Hospital

धनगढीः धनगढीमा प्रवेश शुल्क उठाइएको भन्दै एक मिनी बस चालकले सामाजिक सञ्जालमा सामग्री सम्प्रेषण गरेपछि उत्पन्न विवादबारे धनगढी उपमहानगरपालिका र बसपार्कको पार्किङ व्यवस्थापनको जिम्मा पाएको एनके कन्स्ट्रक्सनले आफ्नो धारणा सार्वजनिक गरेका छन्। नगर प्रमुख गोपाल हमालले धनगढीमा कुनै पनि प्रवेश शुल्क नरहेको स्पष्ट पारेका छन् भने ठेकेदार कम्पनीले पनि आफूहरूले प्रवेश शुल्क नभई पार्किङ शुल्क मात्रै उठाएको जनाएको छ।

CP Hospital Dhangadhi

एक मिनी बस चालकले धनगढीमा प्रवेश शुल्क लिइएको भन्दै सामाजिक सञ्जालमा सामग्री सार्वजनिक गरेपछि उक्त विषयले चर्चा पाएको थियो। त्यसपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आउन थालेका थिए। चौतर्फी आलोचना हुन थालेपछि नगर प्रमुख हमालले उक्त विषयको खण्डन गर्दै धनगढीमा कुनै पनि प्रवेश शुल्क नरहेको बताएका थिए।

यसै विषयमा थप स्पष्टता लिन धनगढी उपमहानगरपालिकाले बसपार्कको पार्किङ शुल्क संकलनको जिम्मा पाएको एनके कन्स्ट्रक्सनसँग स्पष्टीकरणसमेत माग गरेको थियो।

nawajiwan
pk & Lotus

महानगरपालिकाले २०८३ असोज २९ गते चलानी नम्बर १३४४ को पत्रमार्फत कम्पनीसँग स्पष्टीकरण माग्दै असोज २८ गते छ लेन सडकमा सवारीसाधनसँग पार्किङ शुल्क उठाउने क्रममा भएको विवादबारे दुई दिनभित्र जवाफ पेस गर्न निर्देशन दिएको थियो। पत्रमा विवादको कारण स्पष्ट पार्न आग्रह गर्दै अन्यथा पार्किङ शुल्कको ठेक्का तोडी नियमानुसार कारबाही प्रक्रिया अगाडि बढाइने उल्लेख गरिएको थियो।

उप महानगरपालिकाको पत्रको जवाफ दिँदै एनके कन्स्ट्रक्सनले आफूहरूले प्रवेश शुल्क नउठाएको, सम्झौताअनुसार पार्किङ शुल्क मात्रै संकलन गरेको स्पष्ट पारेको छ।

कम्पनीका अनुसार धनगढी उपमहानगरपालिका–४ स्थित बसपार्कको पार्किङ शुल्क संकलन तथा टर्मिनल भवनको तल्लो तलासम्बन्धी ठेक्का सम्झौताअनुसार काम भइरहेको छ। २०८० साउन ११ गतेदेखि २०८५ साल असार मसान्तसम्मका लागि भएको सम्झौताअनुसार पार्किङ शुल्क संकलनको जिम्मेवारी पाएको कम्पनीको भनाइ छ।

कम्पनीले आफ्नो स्पष्टीकरणमा बसपार्क प्रयोग नगरी चौराहा, सहिद गेट तथा अन्य स्थानबाट यात्रु बोकेर जाने र पार्किङ शुल्क नतिरी जाने यात्रुवाहक सवारीसाधनका कारण शुल्क संकलनमा समस्या भइरहेको उल्लेख गरेको छ। सम्झौताको बुँदा नम्बर १४ अनुसार बसपार्कबाहिरबाट छुट्ने सवारीसाधनबाट पार्किङ शुल्क संकलन गर्ने व्यवस्था रहेको र बुँदा नम्बर १६ मा सम्झौताविपरीत कार्य गर्ने सवारीसाधनलाई जरिवाना गर्ने प्रावधान रहेको कम्पनीको दाबी छ।

कम्पनीले पार्किङ शुल्क संकलनलाई सहज बनाउन तथा अव्यवस्थित सवारीसाधन नियन्त्रण गर्न उपमहानगरपालिकासँग आवश्यक समन्वय र सहयोगको अपेक्षा गरेको छ।

यसरी सामाजिक सञ्जालमा धनगढीमा प्रवेश शुल्क उठाइएको भन्दै सार्वजनिक भएको सामग्रीपछि उप महानगरपालिका र पार्किङ व्यवस्थापनको जिम्मा लिएको कम्पनी दुवैले प्रवेश शुल्क उठाइएको भन्ने विषयको खण्डन गरेका छन्। नगर प्रमुख हमालले धनगढीमा प्रवेश शुल्क नरहेको बताएका छन् भने कम्पनीले पनि आफूहरूले प्रवेश शुल्क नभई पार्किङ शुल्क मात्रै उठाएको स्पष्ट पारेको छ।

Dhnagadhi & Krishanapur