इन्जिनियरिङ अनुभव र विकासको दृष्टिकोणसहित दशरथचन्दको मेयर बन्ने तयारीमा, राजनीतिक यात्राका लागि अघि सर्दै

Image
Nisarga Hospital

बैतडीः प्राविधिक ज्ञान, विकास निर्माणको अनुभव र ग्रामीण क्षेत्रको सेवामा लामो समय बिताएका एक इन्जिनियरले बैतडीको दशरथचन्द नगरपालिकाको नगर प्रमुख (मेयर) पदमा उम्मेदवारी दिने तयारी अघि बढाएका छन्। केन्द्र, प्रदेश, जिल्ला तथा स्थानीय तहका अग्रज राजनीतिकर्मी, सहकर्मी, इन्जिनियर समुदाय र शुभेच्छुकहरूको प्रस्ताव, सुझाव तथा आग्रहलाई आत्मसात् गर्दै उनले आगामी निर्वाचनमा आफूलाई मेयर पदको सम्भावित उम्मेदवारका रूपमा अगाडि सारेका हुन्।

CP Hospital Dhangadhi

‘देशको नेतृत्व र भौतिक पूर्वाधार निर्माणको जिम्मेवारी इन्जिनियरले सम्हाल्न सक्ने अवस्थामा स्थानीय तहमा प्राविधिक ज्ञान र विकासको स्पष्ट दृष्टिकोणसहितको नेतृत्व किन नहुने?’ भन्ने प्रश्न उठाउँदै उनले दशरथचन्द नगरपालिकाको समृद्धि र व्यवस्थित विकासलाई आफ्नो प्रमुख लक्ष्य बनाएका छन्।

सेती प्राविधिक शिक्षालयबाट सिभिल इन्जिनियरिङमा डिप्लोमा गरेका उनले नेपाल इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङमा स्नातक तहको अध्ययन पूरा गरेका छन्। त्यसैगरी, पाटन बहुमुखी क्याम्पसबाट ग्रामीण विकास विषयमा स्नातकोत्तर गरेका उनी प्राविधिक ज्ञान र सामाजिक विकाससम्बन्धी अध्ययनलाई व्यवहारमा जोड्ने सोच राख्छन्।

nawajiwan
pk & Lotus

विभिन्न सरकारी तथा गैरसरकारी संस्थामा करिब १५ वर्ष ग्रामीण क्षेत्रमा सेवा गरेको अनुभव उनीसँग छ। यस अवधिमा पुल, सडक तथा खानेपानीलगायत भौतिक पूर्वाधार निर्माण र विकाससम्बन्धी काममा संलग्न रहँदै उनले ग्रामीण क्षेत्रका आवश्यकता, चुनौती र विकासका सम्भावनालाई नजिकबाट बुझ्ने अवसर पाएका छन्। निर्माण क्षेत्रसँगै खरिद तथा सार्वजनिक खरिद प्रक्रियासम्बन्धी ज्ञान र अनुभव पनि उनको व्यावसायिक यात्राका महत्त्वपूर्ण पक्ष हुन्। कामकै सिलसिलामा देशका ७० भन्दा बढी जिल्ला भ्रमण गरेको अनुभवले उनलाई विभिन्न भूगोल, समुदाय र विकासका अभ्यास बुझ्ने अवसर दिएको छ।

यिनै शैक्षिक योग्यता, प्राविधिक दक्षता र कार्यानुभवलाई स्थानीय तहको नेतृत्वसँग जोड्ने उद्देश्यसहित उनी आगामी राजनीतिक यात्राको तयारीमा जुटेका छन्। कुन राजनीतिक दलबाट वा स्वतन्त्र रूपमा निर्वाचनमा अघि बढ्ने भन्नेबारे भने उनले आफ्नो धारणा छिट्टै सार्वजनिक गर्ने बताएका छन्।

उनले आफ्नो सम्भावित उम्मेदवारीलाई व्यक्तिगत आकांक्षामा मात्र सीमित नराखी अग्रज, सहकर्मी, इन्जिनियर समुदाय र आम नागरिकको सुझाव तथा सहकार्यमा अघि बढाउने अपेक्षा व्यक्त गरेका छन्।

‘समृद्ध दशरथचन्द, व्यवस्थित विकास’ भन्ने मूल भावनासहित अघि बढ्न खोजेका उनले नगरको विकास, पूर्वाधार व्यवस्थापन र नागरिकका आवश्यकतालाई प्राथमिकतामा राख्ने लक्ष्य प्रस्तुत गरेका छन्। आगामी निर्वाचनमा उनको राजनीतिक यात्राले कुन दिशा लिन्छ भन्ने विषय सार्वजनिक हुन बाँकी रहे पनि मेयर पदमा आफूलाई अगाडि सार्ने घोषणासँगै दशरथचन्दको स्थानीय राजनीतिक वृत्तमा उनको सम्भावित उम्मेदवारीबारे चासो बढ्ने देखिन्छ।

Dhnagadhi & Krishanapur