
बैतडी:

बैतडीको सिगास गाउँपालिका–४, गढतोलास्थित सुप्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल निलपाल मन्दिरमा परम्परागत रतेडी तथा दिउँसेडी जात्रा (जाँत) आयोजना हुने भएको छ । शुक्ल नवमी अर्थात् मंसिर २ गते राति रतेडी जात्रा तथा मंसिर ३ गते दिउँसो १२ बजेसम्म दिउँसेडी जात्रा सञ्चालन हुने भएको हो ।
सिगास गाउँपालिकाकै प्रसिद्ध धार्मिक स्थल सिगास धाम मन्दिरमा शुक्ल अष्टमीका दिन लाग्ने जात्राको भोलिपल्ट शुक्ल नवमीका अवसरमा निलपाल मन्दिरमा जात्रा लाग्ने परम्परा रहिआएको छ । यही धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि जात्रा आयोजना हुन लागेको हो ।
स्थानीयका अनुसार निलपाल मन्दिरमा पूजा–आराधना गरे मनले चिताएको इच्छा पूरा हुने जनविश्वास रहिआएको छ । यही धार्मिक आस्थाका कारण सिगास गाउँपालिकाका नौवटै वडाका साथै बसाइँ सरेर तराई पुगेका स्थानीयवासी तथा छिमेकी जिल्लाका भक्तजनसमेत प्रत्येक वर्ष जात्रामा सहभागी हुने गरेका छन् ।
यस वर्ष सिगास गाउँपालिकाका अन्य धेरै मन्दिरमा विभिन्न कारणले जात्रा आयोजना नभएकाले निलपाल मन्दिरमा विगतका वर्षको तुलनामा अझ बढी श्रद्धालु भक्तजन तथा दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको छ ।
निलपाल मन्दिरको जात्रा धार्मिक पूजाआराधनामा मात्र सीमित छैन । यहाँ परापूर्वकालदेखि देउडा खेल्ने, धामी काम्ने तथा सामूहिक पूजा गर्ने मौलिक परम्परा रहँदै आएको छ । रातिको रतेडी जात्रा र दिनको दिउँसेडी जात्रासँगै हुने धार्मिक अनुष्ठान, देउडा खेल तथा सामूहिक सहभागिताले यस क्षेत्रको मौलिक संस्कृति र परम्परालाई जीवन्त राख्दै आएको छ ।
जात्रालाई सभ्य, भव्य र मर्यादित रूपमा सम्पन्न गर्न स्थानीय युवाहरूले सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । उनीहरूले जात्रामा सहभागी हुने सम्पूर्ण भक्तजन तथा दर्शकलाई मादक पदार्थको बिक्री, वितरण र सेवन नगर्न तथा जुवातासजस्ता गतिविधिबाट टाढा रही धार्मिक आस्था र सांस्कृतिक मर्यादाअनुसार सहभागी हुन आग्रह गरेका छन् ।






























