अत्तरियामा स्वास्थ्य युवा महोत्सव सुरु, नागरिकलाई एउटै थलोबाट विशेषज्ञ स्वास्थ्य सेवा

Image
Nisarga Hospital

कैलालीको अत्तरियामा स्वास्थ्य युवा महोत्सव २०८३ सुरु भएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बुधबार महोत्सवको उद्घाटन गरेका हुन्।
गोदावरी चेम्बर अफ कमर्स, कैलाली चेम्बर अफ कमर्स र सुदूरपश्चिम प्रदेश चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा अत्तरियास्थित पार्टनर प्यालेसमा महोत्सव सञ्चालन भइरहेको छ।
उद्घाटन कार्यक्रममा संघीय प्रतिनिधिसभा सदस्य रमेश प्रसाई, प्रदेशसभा सदस्य खेमादेवी विष्टलगायतको उपस्थिति रहेको थियो। महोत्सवमा अनुभवी तथा विशेषज्ञ चिकित्सकबाट सर्वसाधारणको स्वास्थ्य परीक्षण भइरहेको छ। पाठेघर, आँखा, दाँतलगायत विभिन्न स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराइएको आयोजकले जनाएको छ।

CP Hospital Dhangadhi

आर्थिक अवस्था कमजोर भएका तथा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित गरी आयोजना गरिएको महोत्सव मंसिर ६ गतेसम्म सञ्चालन हुनेछ।

उद्घाटनका क्रममा मुख्यमन्त्री भट्टले स्वास्थ्यलाई केन्द्रमा राखेर आयोजना गरिएको महोत्सव नयाँ र सकारात्मक पहल भएको बताए। उनले महोत्सवबाट प्राप्त सुझाव तथा निष्कर्ष प्रदेश सरकारलाई बुझाउन आग्रह गर्दै कार्यान्वयनमा प्रतिबद्धता जनाए।

सांसद प्रसाई र प्रदेशसभा सदस्य विष्टले पनि महोत्सवले नागरिकलाई प्रत्यक्ष लाभ पुर्‍याउने तथा सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर प्रदान गरेको भन्दै प्रशंसा गरे। आयोजकले महोत्सवमार्फत स्वास्थ्य सचेतना बढाउनुका साथै समयमै स्वास्थ्य परीक्षण गर्ने बानीको विकास हुने अपेक्षा गरेको छ।