
बैतडी: तीन दशकभन्दा लामो समयदेखि चर्चामा रहे पनि निर्माण प्रक्रिया अघि बढ्न नसकेको बैतडीको झुलाघाटस्थित महाकाली नदीमाथि मोटरेबल पुल निर्माणको विषय प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणमा प्राथमिकताका साथ उठाउन माग गरिएको छ।

बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा झुलाघाट पुल निर्माणको विषयलाई प्रमुख एजेन्डा बनाउन आग्रह गरेका हुन्। उनले नेपाल र भारतबीच विगतमा भएका सहमति तथा प्रतिबद्धताको कार्यान्वयन अवस्था अध्ययन गरी निर्माण प्रक्रिया अघि बढाउन कूटनीतिक पहल गर्नुपर्ने बताएका छन्।
चन्दले यसअघि भएका उच्चस्तरीय भेटवार्ता तथा कूटनीतिक छलफलमा समेत झुलाघाट पुलले अपेक्षित प्राथमिकता पाउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। वर्षौंदेखि ज्ञापनपत्र बुझाउने, आन्दोलन गर्ने, रिले अनशन बस्ने र हस्ताक्षर अभियान सञ्चालन गर्दा पनि निर्माण प्रक्रिया अघि नबढ्नु दुःखद भएको उनको भनाइ छ।
झुलाघाटमा मोटरेबल पुल निर्माणको माग तीन दशकभन्दा पुरानो हो। उपलब्ध विवरणअनुसार सन् १९९८ मा पुल निर्माणका लागि प्रारम्भिक सर्वेक्षण गरिएको थियो भने सन् १९९९ मा करिब ९० मिटर लामो पुलको डीपीआर तयार गरिएको थियो। सन् २००० मा नेपाल र भारतबीच पुल निर्माण गर्ने सहमति भएको विवरणसमेत सार्वजनिक भएको थियो। तर विभिन्न प्राविधिक तथा अन्य कारणले योजना अघि बढ्न सकेन।
यसअघि २०७३ असोज २७ गते नयाँ दिल्लीमा सम्पन्न नेपाल–भारत संयुक्त आयोगको चौथो बैठकमा पनि झुलाघाट, शीर्ष र दार्चुलामा मोटरेबल पुल निर्माणको प्रस्ताव उठाइएको थियो।
झुलाघाट पुल निर्माणका विषयमा २०८० जेठ १८ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा महत्वपूर्ण प्रतिबद्धता सार्वजनिक भएको थियो। प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटवार्तापछि मोदीले महाकाली नदीमा झुलाघाट र शीर्षमा दुईवटा मोटरेबल पुल निर्माण गर्ने घोषणा गरेका थिए। नेपाल सरकारका अनुसार दुवै पुल भारतको अनुदान सहयोगमा निर्माण गर्ने सहमति भएको थियो।
त्यसपछि भारतीय प्राविधिक टोलीले झुलाघाट क्षेत्रमा सम्भावित निर्माणस्थलको निरीक्षणसमेत गरेको थियो। प्रारम्भिक अध्ययनमा करिब ५०० देखि ५१० मिटर लामो दुई लेनको पुल निर्माण गर्ने प्रस्ताव अघि बढाइएको थियो। यसको अनुमानित लागत भारतीय रुपैयाँ चार अर्ब ५० करोड आसपास रहेको विवरण सार्वजनिक भएको थियो। विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) भारत सरकारलाई पठाइएको जानकारीसमेत सार्वजनिक भए पनि अहिलेसम्म निर्माण कार्य सुरु हुन सकेको छैन।
अध्यक्ष चन्दका अनुसार झुलाघाट पुल बैतडीको मात्रै नभई समग्र सुदूरपश्चिमको आर्थिक, सामाजिक तथा व्यापारिक विकाससँग जोडिएको महत्वपूर्ण पूर्वाधार हो। पुल निर्माण भए बैतडीसहित दार्चुला, डडेल्धुरा, डोटी र बझाङका नागरिकलाई भारत आवतजावत गर्न सहज हुनेछ।
विशेषगरी उपचार, शिक्षा, रोजगारी, व्यापार तथा पारिवारिक सम्बन्धका लागि भारत जाने नागरिकलाई सुविधा पुग्नुका साथै स्थानीय कृषि उत्पादनको बजारीकरण र सीमावर्ती व्यापार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरीलगायत धार्मिक तथा पर्यटकीय स्थलमा भारतीय पर्यटकको आवागमन बढाउनसमेत पुल महत्वपूर्ण हुने देखिन्छ।
प्रधानमन्त्री शाहको आगामी नोभेम्बर २२ र २३ मा हुने तयारी रहेको भारत भ्रमणका क्रममा झुलाघाट पुल निर्माणको विषयलाई प्राथमिकताका साथ उठाउन चन्दले आग्रह गरेका छन्।
अब पुलको डीपीआर कहाँ अड्किएको छ, निर्माणका लागि बजेट सुनिश्चित भएको छ कि छैन र काम सुरु गर्न के–कस्ता प्रक्रिया बाँकी छन् भन्ने विषयमा दुवै सरकारले स्पष्ट पार्नुपर्ने स्थानीयको माग छ। वर्षौंदेखि आश्वासन र प्रतिबद्धतामा सीमित रहेको झुलाघाट पुल निर्माणलाई यसपटक ठोस निर्णय र समयसीमासहित अघि बढाउनुपर्ने उनीहरूको जोड छ।






























