
अत्तरियाः कैलालीको चिसापानीदेखि राजकाँडासम्म निर्माण भइरहेको जालपादेवी केबलकार अबको एक महिनाभित्रै व्यावसायिक सञ्चालनमा आउने तयारीमा जुटेको छ। सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धन र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्यसहित निर्माण भइरहेको यो आयोजना सञ्चालनको अन्तिम चरणमा पुगेको हो।

केबलकार निर्माण पक्ष तथा संचालक चन्द्र ढकालका अनुसार आयोजनाका तल्लो र माथिल्लो स्टेसनका अधिकांश संरचना तयार भइसकेका छन्। केबलकार सञ्चालनसँगै चिसापानी र राजकाँडा क्षेत्रलाई एकीकृत पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अघि बढाइएको छ।
आयोजनाको गुरुयोजनाअनुसार स्तरीय होटल, रिसोर्ट, क्यासिनो, रेस्टुरेन्ट, बाल उद्यान, पदमार्ग तथा धार्मिक आस्थाको केन्द्र जालपादेवी मन्दिरलगायतका पूर्वाधारसमेत क्रमशः निर्माण भइरहेका छन्।
कर्णाली पुल र चिसापानीको प्राकृतिक सौन्दर्य अवलोकन गर्न यसअघि नै आन्तरिक तथा भारतीय पर्यटक पुग्ने गरेका छन्। केबलकार निर्माणको खबरसँगै चिसापानी र राजकाँडा क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको निर्माण पक्षको भनाइ छ। केबलकार सञ्चालनपछि पर्यटकको आवागमनसँगै बसाइ अवधि पनि बढ्ने अपेक्षा गरिएको छ।
आयोजनाले स्थानीय यातायात, होटल व्यवसाय, कृषि उपज तथा साना व्यवसायलाई बजार विस्तार गर्न सहयोग पुग्ने विश्वास लिइएको छ। साथै, स्थानीय युवाले आफ्नै क्षेत्रमा रोजगारी पाउने र वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता कम गर्नसमेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
निर्माण पक्षले आयोजना सफल बनाउन स्थानीय बासिन्दा, स्थानीय तथा प्रदेश सरकार, संघीय सरकार, सरोकारवाला निकाय, स्थानीय साझेदार तथा इन्जिनियरिङ टोलीको महत्वपूर्ण सहयोग रहेको जनाएको छ।
केबलकारसहितका सहायक पूर्वाधार निर्माण सम्पन्न भएपछि चिसापानी–राजकाँडा क्षेत्र सुदूरपश्चिमकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने निर्माण पक्षको विश्वास छ। यसले प्रदेशको पर्यटन विकास, रोजगारी सिर्जना र स्थानीयको जीवनस्तर सुधारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
































