लोकसेवा तयारी गर्ने युवालाई सरकारको निःशुल्क कक्षा, शाखा अधिकृत र नासुका लागि आवेदन खुला

Image
Nisarga Hospital

लोकसेवा आयोगको परीक्षाको तयारी गरिरहेका युवाहरूका लागि सरकारले निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय युवा परिषद्ले शाखा अधिकृत र नायब सुब्बा (नासु) पदको तयारी कक्षामा सहभागी हुन इच्छुक युवाहरूबाट आवेदन माग गरेको छ।

CP Hospital Dhangadhi

परिषद्ले चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत विशेष प्राथमिकता प्राप्त युवाहरूलाई लक्षित गरी अनलाइन माध्यमबाट कक्षा सञ्चालन गर्न लागेको हो। यसका लागि मंसिर ४ गते सूचना जारी गर्दै इच्छुकलाई मंसिर १८ गतेभित्र आवेदन दिन आग्रह गरिएको छ।

कार्यक्रमअन्तर्गत शाखा अधिकृत पदको प्रथम पत्र र नायब सुब्बा पदको परीक्षाको तयारी कक्षा सञ्चालन गरिनेछ। विशेष प्राथमिकता प्राप्त वर्गका युवालाई लक्षित गरिए पनि अन्य इच्छुक युवाले समेत आवेदन दिन सक्ने व्यवस्था गरिएको परिषद्ले जनाएको छ।

कार्यक्रममा दलित, अल्पसङ्ख्यक, सीमान्तकृत, अपाङ्गता भएका व्यक्ति, पिछडिएको क्षेत्रका नागरिक, जोखिममा परेका व्यक्ति तथा महिलालगायतका वर्गलाई प्राथमिकता दिइनेछ। विशेष प्राथमिकता प्राप्त वर्गको प्रमाणित कागजात अनिवार्य नभए पनि उपलब्ध भएमा पेस गर्न सकिनेछ। आवेदन दिएका सबै सहभागी छनोट हुने भने निश्चित छैन।

इच्छुकले सरकारको श्रम संसार पोर्टलमार्फत अनलाइन आवेदन दिन सक्नेछन्। आवेदनका लागि नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र र दुवै कान देखिने पासपोर्ट साइजको फोटो अपलोड गर्नुपर्नेछ। आवेदकले आफ्नो व्यक्तिगत विवरण, ठेगाना तथा तयारी गर्न चाहेको पदसमेत छनोट गर्नुपर्नेछ।

यसअघि परिषद्ले उपलब्ध गराएको गुगल फाराममार्फत आवेदन दिइसकेका युवाले पुनः आवेदन दिनु नपर्ने जनाएको छ।

कक्षा सुरु हुने मिति, अवधि र सहभागी संख्या भने सार्वजनिक गरिएको छैन। निजी संस्थामा शुल्क तिरेर तयारी गर्न कठिनाइ भएका युवाका लागि यो कार्यक्रम उपयोगी हुने अपेक्षा गरिएको छ।

आवेदन दिने अन्तिम मिति : २०८३ मंसिर १८ गते

आवेदन लिंक : https://shramsansar.gov.np/loksewa-preparation

थप जानकारी : राष्ट्रिय युवा परिषद्, फोन ०१-६६३५१३३। वेबसाइट : https://nyc.gov.np