नारायणगढ–मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने, तुइनखोलामा पहिरो रोकथामको काम सुरु गरिँदै

Image
Nisarga Hospital

नारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम गर्न आइतबार (मंसिर १३) देखि दैनिक पाँच घण्टा सडक बन्द गरिने भएको छ।

CP Hospital Dhangadhi

जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडकमा सबै प्रकारका सवारीसाधनको आवागमन रोक्ने निर्णय गरेको हो। पहिरो रोकथामका क्रममा हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सडक बन्द गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले जानकारी दिएका छन्।

तुइनखोला क्षेत्रमा वर्षायाममा मात्र नभई हिउँदमा समेत निरन्तर पहिरो खस्ने समस्या देखिएपछि दीर्घकालीन समाधानका लागि विशेष प्रविधि अपनाएर काम गर्न लागिएको हो। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो प्रभावित भिरमा ठूला ढुङ्गा हटाउने, किला रड ठोकेर जमिन बलियो बनाउने ‘नेलिङ’ प्रविधि, पानी निकासका लागि ‘होरिजोन्टल ड्रेन’ तथा बायोइन्जिनियरिङ विधि प्रयोग गरिनेछ।

गत असोजदेखि रोकिएको काम पुनः सुरु गर्न लागिएको हो। सडक डिभिजनका प्रमुख इन्जिनियर अमितकुमार शर्माका अनुसार सडकको अवस्था हेर्दा कम्तीमा १५ दिन बन्द गरेर काम गर्नुपर्ने देखिए पनि प्राविधिक मूल्याङ्कनपछि अवधि तय हुनेछ।

यसअघि पृथ्वी राजमार्गको घोप्टेभीरमा भइरहेको काम सकिएपछि तुइनखोलामा काम अघि बढाइने जनाइएको छ। घोप्टेभीरको काम सकिएसँगै पर्सिदेखि उक्त सडक सञ्चालनमा आउने अपेक्षा गरिएको छ।

यसैबीच, मुग्लिङ–आँबुखैरेनी हुँदै पोखरा जाने पृथ्वी राजमार्ग भने सञ्चालनमा रहने प्रशासनले जनाएको छ। सडक बन्द हुने समयलाई ध्यानमा राख्दै यात्रु तथा सवारी चालकलाई आफ्नो यात्रा व्यवस्थापन गर्न प्रशासनले आग्रह गरेको छ।