
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशको महिला बास्केटबल टोलीले ऐतिहासिक सफलता हासिल गरेको छ। क्वाटरफाइनलमा लुम्बिनी प्रदेशलाई ३९–१६ अंकको फराकिलो अन्तरले पराजित गर्दै सुदूरपश्चिम पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो।

यसअघि समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम समूह विजेता बनेको थियो। पहिलो खेलमा बलियो मानिएको बागमती प्रदेशलाई ३६–३३ अंकले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको टोलीले दोस्रो खेलमा मधेस प्रदेशलाई ४७–३ अंकले हराएको थियो।
समूह चरणका दुवै खेलमा जित निकाल्दै क्वाटरफाइनल पुगेको सुदूरपश्चिमले लुम्बिनीलाई पनि सहजै पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो।
यसअघि राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला बास्केटबलतर्फ सुदूरपश्चिमले पदक जित्न सकेको थिएन। यसपटकको ऐतिहासिक सेमिफाइनल यात्राले प्रदेशको महिला बास्केटबलमा नयाँ सम्भावना देखाएको छ।
नेपाल बास्केटबल संघका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश उपाध्यक्ष लोकेन्द्र सिंहले खेलाडीहरूको निरन्तर मेहनत, लगनशीलता र परिश्रमकै परिणामस्वरूप यो सफलता प्राप्त भएको बताए। उनले टोलीको प्रदर्शनले सुदूरपश्चिमको खेलकुद क्षेत्रमा नयाँ उत्साह थपेको उल्लेख गरे।



























