पार्टीको अस्तित्व रक्षाका लागि जुनसुकै मूल्य चुकाउन तयार छौँ : कमलबहादुर शाह

Image
Nisarga Hospital

धनगढीः नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले पार्टीको अस्तित्व, सिद्धान्त र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षाका लागि जुनसुकै मूल्य चुकाउन तयार रहन कांग्रेस नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

CP Hospital Dhangadhi

आइतबार धनगढीमा आयोजित नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत कैलाली जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै शाहले कसैको डर, धम्की र दबाबबाट विचलित नभई पार्टीको पक्षमा दृढतापूर्वक उभिनुपर्ने बताएका हुन्।

गगनकुमार थापाले शेरबहादुर देउवा नेतृत्वमा हुने महाधिवेशनमा सहभागी जनप्रतिनिधिलाई कारबाही गर्ने चेतावनी दिएको प्रसङ्ग उल्लेख गर्दै शाहले कांग्रेसको इतिहास विभिन्न चुनौती र संघर्षले भरिएको बताए। २००३ सालदेखि नै पार्टीले अनेकौँ आरोह–अवरोह पार गर्दै आएको स्मरण गराउँदै उनले कांग्रेस कुनै पनि दबाबबाट पछि हट्ने पार्टी नभएको धारणा राखे।

शाहले मुलुकको विकास, राजनीतिक स्थिरता र राष्ट्रिय एकताका लागि शेरबहादुर देउवाको नेतृत्व आवश्यक रहेको जिकिर गरे। पार्टीलाई एकताबद्ध बनाउँदै समृद्धिको यात्रालाई अगाडि बढाउन देउवाको विकल्प नरहेको उनको भनाइ थियो।

उनले राष्ट्रिय एकता कायम गर्दै मुलुकलाई विकास र समृद्धिको दिशामा अघि बढाउन देउवाको नेतृत्व आवश्यक रहेको दोहोर्‍याए।

कैलाली जिल्ला सभापति नारायणदत्त भट्टको अध्यक्षतामा सम्पन्न अधिवेशनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामजनम चौधरी प्रमुख अतिथिका रूपमा सहभागी थिए।

कैलालीका १३ स्थानीय तह र पाँच निर्वाचन क्षेत्र समेटिएको अधिवेशनमा ३ हजार १६२ जना क्षेत्रीय प्रतिनिधिको सहभागिता रहेको आयोजकले जनाएको छ।