

मुलुकमा सङ्कटकाल लागेको करिब सात बर्ष भै सकेको थियो । कमरेड पिटरको नेतृत्वमा हामी माओवादी पार्टीको बिचारलाई बुझ्न पैतिस जनाको समुहमा दार्चुलाबाट हाम्रो यात्रा शुरू गरेका थियौ । मंसिरको अन्तिम साता ठक्याङ्ग्रिदो चिसो संगै शुरू भएको हाम्रो यात्रामा अरू साथीहरू पनि बिस्तारै थपिदै थिए। यसपालीको हाम्रो यात्राको अन्तिम गन्तव्य पार्टीले गोप्य नै राखेका थिए । माओवादी पार्टीको आन्तरिक सुचकहरूले पुर्व सूचना दिएपछि मात्रै हाम्रो अगाडीको गन्तव्य तय हुने गर्दथ्यो ।
हाम्रो यात्राको जानकारी शाही सेनालाई भएको अवस्थामा हामी जुनसुकै बेला पनि आक्रमणको निशानामा पर्ने निश्चित जस्तै थियो । त्यसैले सुरक्षा संवेदनशीलतालाई बिचार गरी बेलाबेलामा पार्टीको माथिल्लो पोस्टका कामरेडहरूबाट रूट र सम्भावित जोखिम तथा ती जोखिम बाट बच्नका लागि अपनाउनुपर्ने सावधानीको बारेमा सर्ट टर्म ब्रिफिङहरू भैराखेका थिए ।




हामीले हिड्दै गरेको बाटोमा पर्ने प्राय बस्तीहरूको माहौल माओवादीमय जस्तै थियो । कामरेड- लालसलाम ! माओवादी जनयुद्ध-जिन्दाबाद!
माओवाद ,लेलिनवाद र प्रचण्ड पथ -जिन्दाबाद!
अन्तरिम संविधान- जारी गर ! गोलमेच सम्मेलन-गर ! जस्ता दर्जनौ नाराहरू माईन्डसेट जस्तै भैसखेका थिए । हामी त्यो यात्रामा सबैभन्दा बढि प्रभावित कामरेड आकाश बाट भएका थियौ । बैतडीको सिमार बाट हाम्रो टिममा जोडिएका आकाशले बिहानी शत्रको कासनमा खुबै व्यायामहरू गराउथे । म आफु पनि करातेको खालाडी हरेकोले उनको किक निकै फ्लेक्जिबल थियो । बक्सिङ निकै क्लियर थियो । पातलो ज्यान, सेतो छाला ,फुर्तिलो चाल, चम्किलो अनुहार, मिठो बोली ,मिलेको हाईट यी सबै गुणहरू कामरेड आकाशका आकर्षक गुणहरूमा पर्दथे ।
माओवादीको हसिया हतौडा ऊकित झण्डा बासको अग्लो लाठीमा बोक्दै दार्चुला ,बझाङ र बैतडी तीनवटै जिल्लाको सिमानालाई जोड्ने सबैभन्दा अग्लो भुभाग गनैखान काटेर कफलसेरी तर्फको ओरालो झर्दा नेकपा माओवादी- जिन्दाबाद भन्दै अग्लो बासको लाठीमा टागिएको हसिया हतौडा अङ्कित झण्डा बोकेर गगनभेदी नारा लगाउदा साच्चिकै कम्युनिष्ट आन्दोलनको मुक्तिगामी पथमा आफुलाई समाहित गरेको महशुस भएको थियो ।
सर्वहाराको तथा श्रमजिवि वर्गको आवाजको प्रतिनिधित्व गर्नुपर्छ भन्ने सोच पलाएको थियो ।
दार्चुला ,बैतडी हुँदै बझाङ पुग्दा सम्म हामीलाई बेलाबालामा दिईने जनवादी प्रशिक्षणले हामीलाई माओवादी आन्दोलनप्रति थप धारणा बनाउन सहयोग पुगिरहेको थियो ।
हामी घरबाट निस्किदा एकथान कम्बल र केहि पाकेट खर्चको मात्रै व्यवस्थापन गरेर आउन पार्टीको निर्देशन भएकोले हामी त्यही तयारीका साथ यात्रामा निस्किएका थियौ ।
बझाङको कफलसेरी आईपुग्दा सम्म हामी जनताको घरदैलोमा गएर खाने र बस्ने प्रबन्धका लागि आग्रह गर्न सक्ने भैसकेका थियौ । अबको यात्रामा हामी जनताका मान्छे थियौ । हाम्रो मिसन जनताको मिसन थियो । हामी हिडेको बाटो जनताको मुक्तिका लागि हो भन्ने थियो । हामी हिड्दै गरेको रूटको माहौल सबै माओवादीमय भैसकेको थियो । हामीहरू सबै मुठ्ठि उचाल्दै लाल “सलाम कामरेड ” भन्दै एक अर्कालाई अभिवादन गर्न सक्ने भैसकेका थियौ । त्यो जागरिलो अभिवादन भित्रको जोश,आशा र भरोसा हेर्दा र त्यो कालखण्डलाई एकपल्ट सम्झिदा पनि मनैभरी जनताको जनजिविका र राज्य सत्ताका बारेमा हजारौ प्रश्नहरूको अस्त्र बर्सिन्छन् ।
हामीले दार्चुलाबाट यात्राको प्रस्थान गरेको छटौ दिन बझाङको बागथला स्थित निम्नमाध्यमिक स्कुलको भवनमा आफैले मेस सञ्चालन गरी बिहान सात बजे नै दालभात खाएर देउरा हुँदै झोता बजार काट्ने योजना तय भयो ।
त्यहाँबाट हामीले यात्रा थाल्नु अघि उक्त बाटोमा हामी संग रहेका सुरक्षा चुनौतीको बारेमा पुर्व छलफल भई त्यो रूट सहज छ भन्ने जानकारी आईसके पछि हामी बागथला देखि कच्ची सडकको बाटो कालङ्गा नदिको किनारै किनार हुँदै मध्य दिनमा देउरा बजार सम्म पुग्यौ ।
सेती र कालङ्गा नदिको समागम स्थल देउरामा केहि समय आराम गरेपछि हाम्रो यात्रा झोता तर्फ अगाडी बढ्यो ।
डेढ दुईघण्टाको पैदल यात्रा पछि झोता बजारमा पुगियो ।
महाकाली यातायातको आकासे रङ्ममा बीचबीचमा कालो रङ्गले साना घर्सा बनाएको महेन्द्रनगर बाट बझाङ चल्ने दुई वटा सार्वजनिक बसलाई झोता बजारमा पार्किङ गरेर राखिएको थियो ।
झोता बजार तत्कालीन समयमा सार्वजनिक यातायात चल्ने अन्तिम बिन्दु थियो । सेतीको किनारमा टिनका पन्ध्र बीस छाप्रोहरूमा दोकान थापेर बनाईएको सानो बजार नकिकका भेगका जनताको दैनिक उपभोग्य वस्तु लिने ठाउँ मध्येको प्रमुख बजार थियो ।
हामी सानो सानो टिम गरेर आठ दश टिममा बिभाजित थियौ । सबै टिमका मान्छेहरू झोता बजारमा पुगेपछि पार्टीका कामरेडहरूले हाम्रो आगामी यात्रामा थप प्रतिब्यक्ति पाँच किलो चामल र एउटा कम्बल अनिवार्य बोक्नुपर्ने गरी योजना सुनाए । हामी मध्येका धेरै जनाले कम्बल घरबाटै बोकेर ल्याएको हुदा पाँच किलो चामल मात्रै थप बोक्नेमा परियो ।
प्लिस्टिकको थैलीमा पाँच किलो चामल राखेर झोलामा हाल्यौ ।
चामल,कम्बल, केहि थान किताब ,लुगाहरू र एकथान डायरी सहितको झोला भिरेर हामीहरू झोता बजार बाट उकालो चढ्दै थलरा स्कुलमा पुगियो ।
दिन ढल्किदै थियो ।
हामी त्यहा आईपुग्दा केहि स्थानीय कमरेडहरूले हातमा अविर बोकेर हामीलाई स्वागत गर्न आएका रहेछन् ।
उहाँहरूले हाम्रो टिमका प्रत्येकलाई एक एक गरी निधारमा रातो अविरको टिका लगाउँदै न्यानो क्रान्तिकारी अभिवादनले स्वागत गर्नु भयो ।
हाम्रो यात्रामा बाटोमै आएर स्थानीयहरूले स्वागत गरेको यो नै पहिलो पल भएकोले उहाँहरूको त्यो स्वागतले हामीलाई आफ्नो यात्रा तर्फ बढि प्रोत्साहित गरेको महशुस गर्यौ।
स्वागत कार्यक्रम सकिएपछि पार्टीका केहि साथीहरूले हामीलाई दुई -दुई जनाको टिम बनाएर नजिकैको बस्तीमा छरिएर सेल्टर लिने र चनाखो भएर आफ्नो सेल्टर साईडमा बस्ने ब्रिफिङ गरे ।
हामी पार्टीको ब्रिफिङ बमोजिम थलरा पारी पट्टि नजिकैको बस्ती जोशीजीहरूको तीन तल्ले सेतो रङ्को घरमा बास बस्यौ ।
प्राय जसो साथीहरूले सेल्टर माग्दा अलि राम्रो र ठुलो घर छान्ने गरेका थिए ।
भोलिपल्टको हाम्रो यात्रा बिहान सात बजेबाट शुरू हुने , बाटोमा शाही सेनालाई छल्दै यात्रा गर्नुपर्ने र सकेसम्म चिउरा,सातु,भुटेको मकै लगायत खाने कुराको समेत बस्ती स्तर बाटै व्यवस्था मिलाउन निर्देशन भएको थियो ।
हामी निर्देशन भए अनुसार सबैजना बिहान सात बजे घोडादाउने चौरमा उपस्थित भयौ ।
चामल र कम्बल सहितको झोला बोकेका सत्तरी पचहत्तर जना युवा युवतीहरू हरू एक साथ उक्त चौरमा जम्मा हुँदा राज्य सत्ता बिरूद्द युद्ध छेड्न हिडेका जनसेनाको सानो टुकुडी जस्तै दृश्य देखिन्थ्यो ।
एकै उमेर समुहका युवाहरूको उक्त समुह माओवादी जनयुद्धका बारेमा नजिक बाट बुझ्ने एउटा यात्रामा निस्किएका थिए । जसको यात्राको गन्तव्य अनिश्चित जस्तै भए पनि सबैमा दृढता,आत्मविश्वास र जोश जागर देखिन्थ्यो । आफ्नो जीवन र भविष्यको कुनै टुङ्गो नभएको यात्रामा निस्किएका यी युवा युवतीहरू ध्यान पुर्वक पार्टिको ब्रिफिङ सुनिरहेका थिए । प्रेम पन्त,ईश्वरी कुबर लगायत केहि कमरेडहरूको सानो ब्रिफिङ पश्चात हामी फर्मेसनमा लामबद्द भई कोईरालकोट तर्फ अगाडी बढ्यौ ।
त्यो दिनको यात्रा हाम्रा लागि सबैभन्दा जोखिमपुर्ण जोनमा हुन लागेको यात्रा थियो । हामी हिड्नु अगाडी रूट क्लियर भए नभएको विषयमा पार्टीका सुचकहरू बाट खबर आए पछि मात्रै अगाडी बढ्ने गरिन्थ्यो ।
त्यो यात्राको लागि पुरै रूट क्लियर भएको तर साईलेन्टली मुभ हुनुपर्ने निर्देशन थियो ।
प्रत्येक व्यक्तिसँग आफ्नो लागि बोकिएको बन्दोबस्तको सामान साथै पाँच केजि चामल अनिवार्य गरिएको थियो ।
बिहान घोडादाउने बाट आरम्भ भएको हाम्रो यात्रा हिड्दा साझ पख बाझाङकै छान्ना गाउँ पुगियो । छान्ना कटाउदा अध्यारो परिरहेको थियो ।
अबको हाम्रो रात्रीकालीन यात्रा प्रारम्भ हुँदै थियो । केटाहरू आपसमा कतै मुडभेटमा परिने त होईनकि भन्दै चिन्ता व्यक्त गरि रहेका थिए । कालुखेती हुदै कतै उकालो कतै ओरालो बाटो हुँदै हामी निरन्तर घण्टौ हिडिरह्यौ । यो पटक हामीलाई सबै भन्दा अगाडीको रूट थाहा पाउने एक जनाको पछाडी सबै टोलीले हिड्नुपर्ने थियो । टर्चहरू प्रयोग गर्न निषेधित थियो । हामी खप्तड राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ खटिएका शाही नेपाली सेनालाई छल्दै अगाडी बढ्नुपर्ने थियो । बिहान सात बजे बाट शुरू भएको हाम्रो यात्रा दिनभरी पुरै हिडेर रातभरी हिड्दै सबै सुरक्षा बिट कटाउदै बाजुरा पुग्नु थियो । मध्यरातमा नदिको किनारै किनार हिडिरहेको हाम्रो टोली पछाडीको एउटा टोली बाटो भुलेर हराएछन् । हाम्रो कमान्डर आकाशले हामीलाई रोकिन भने । पछाडीको टोली मिस भयो । खोज्न जानुपर्ने भो भन्दै केहि कमरेडहरू पछाडी फर्किए ।
आकाशमा अलि अलि जुन लागेको थियो । जुत्ताहरू पुरै भिजेका थिए । मंसिर अन्तिम हप्ता भएकोले तुसारोले ज्यान सिरिङ्ग बनाउदै थियो । राजेन्द्र ,सुरेश,प्रदिप, करन, भुवनचन्द्र गरेर हामी केटाहरूको टोली बाटो छेउ नजिकैको चौर जस्तै ठाउँमा गएर रोकियौ । दिनभरीको थकान,भोक र चिसोले केटाहरू एकछिनमै घुर्न थाले । निन्द्रा,भोक र थकाईले सबैलाई गलाएको थियो । आफु संग भएका झोलाहरू सिरानीमा च्याप्दै साथीहरू केहिबेर निदाए ।
करिब डेढ घण्टाको पर्खाई पछि पछाडी हराएको टोली आईपुग्यो । साथीहरू टर्च नबाली बिस्तारै हामी नजिक पुगेपछि उनिहरूको टोलीको अगाडीको साथी थाकेर एकछिन बसेका कारण उनिहरू हराउन पुगेका रहेछन्। त्यो टिममा हिड्दा कोही एकमिनेट पनि रोकियो भने अगाडीको टोली मुभ भईहाल्ने र पछाडीको हराउने जोखिम थियो ।
रातीको एक बजिसकेको थियो । यात्राको गन्तव्यको ठेगान थिएन । अलिकति अगाडी बढेपछि हामी बाजुराको सिमानामा पुगेछौ ।
सबैलाई एक ठाउँमा जम्मा पारेर ब्रिफिङ शुरू भयो ।
ब्रिफिङमा हामी दुश्मनको एरिया पार गरेर सेभ ल्याण्डिङ भैसकेका छौ । बझाङ कटाएर बाजुरा जिल्लामा प्रवेश गर्दैछौ । अब राती जनताको घरमै गएर सेल्टर माग्नुपर्ने र पुनः बिहान आठ बजे अगाडीको यात्राको लागि
सम्पर्कमा आउनुपर्ने भन्ने ब्रिफिङ भयो ।
ब्रिफिङ भएको ठाउँबाट केहि उकालो चढेर पुनः बीस मिनेट जति ओरालो झर्दा अलिअलि घरहरू भेटिदै थिए ।
त्यो घरहरू भएको ठाउँ खप्तड राष्ट्रिय निकुञ्ज नजिकको बझाङ र बाजुराको सिमानाको बाजुरा पट्टिको गाउँ थियो ।
पातलो बस्ती रहेको उक्त गाउमा पुग्दा तीन बजिसकेको थियो ।
अब साथीहरूले पालैपालो घरहरूको ढोकामा गएर “बा /आमा ढोका खोल्नुहोस् न ! हामी माओवादी आयौ । बास दिनुपर्यो ” भन्दै सेल्टरका लागि ठाउँ माग्न शुरू गरे ।
हामीले पनि तीन चार घरका ढोकामा गएर बोलायौ ।
मध्यरातमा “माओवादी आयौ बास दिनुहोस्” भन्दै बोलाउदा उहाँहरू नबोल्नु स्वभाविक पनि थियो । हामी जबरजस्ती उहाँहरूलाई बास दिन बाध्य गराईरहेका थियौ ।
त्यो हाम्रो पनि बाध्यता थियो ।
अब घरको ढोकामा गएर बोलाउने पालो मेरो थियो । खरले छाएको सानो घर अगाडी पुग्यौ । भित्र कोही गुन्गुनाएको आवाज आईरहेको थियो । मैले ढोकामा ढकढक पार्दै “आमा बास दिनुहोस् न हामी माओवादी हौ । ” भन्दै बोलाए ।
भित्रबाट एकजना आमाले “बा लाग्ने मान्छे कोही आछिन । मुईत ढाड लाग्याको छ । उठि नाई सक्को ” भन्नु भयो ।
उहाँको कुरा सुनेर म नाजवाफ भए। उक्त समयमा
द्वन्दका कारण थुप्रै लोग्नेमान्छेहरू काला पहाड तीर पलायन भएर गाउँमा केटाकेटी र महिलाहरू मात्रै थिए ।
“हुन्छ त्यसो भए। हामी अर्को घरमा जान्छौ भन्दै ” हामी पाच मिनेट जति अगाडी बढेर बाटो नजिकै रहेको अर्को घरमा छिर्यौ । अब गाउमा “बा” हरू छैनन भन्ने थाहा पाए पछि
त्यहा पनि मैले आमा ढोका खोल्नुहोस् न हामी …….भन्दै ढोकामा ढकढक पारे ।
दुईचार पटक ढकढक पारेपछि भित्र बाट एक जना आमा बोल्नु भयो ।
उहाँले पनि पहिलेको आमाले जस्तै “बा लोग्ने मान्छे कोही आछिन । मुईत ढाड लाग्याको छ ” भन्दै जवाफ दिनु भयो ।
अब हामी आत्तियौ । हाम्रोमा ढाड लाग्याको भनेको अवैध गर्भ बसेको भन्ने बुझिन्छ।
यो गाउँ त पुरै खत्तम रहेछ भन्दै अगाडी बढियो ।
नजिकै रहेको एउटा बाझो घर भेट्यौ ।
पतिङ्गरहरू जम्मा पारेर राखेको उक्त बाझो (खर्क ) घर भित्रै सुत्यौ ।
बिहान सात बजे तर्फ उठ्यौ । र सबै सामेल भयौ । अब हामी बाजुराको डोगडा गाउँ सम्म पुगेर बिहानको खाना खाने कार्यक्रम तय भयो । त्यसको बेलुका कुलदेउमाण्डौ पुगेर खगराज भट्ट (अहिलेका माओवादी पार्टी बाट सुदुरपश्चिम प्रदेश सभा सदस्य) लगायतका उच्च तहका नेताहरू पनि भेटिने कार्यक्रम थियो ।
बिहानै हाम्रो कमान्डर लाई भेट्ने बितिक्कै रातीको ढाड लाग्याको कुरो सेयर गर्यौ ।
गाउँ त पुरै दुर्गन्धित भएछ । लोग्ने मान्छे सबै कालापहाड रहेछन् । आईमाई मान्छे जति सबैलाई बिगारेछ भनेर कुरो राखियो ।
हाम्रो कुरो सुनेर अकाश मुसुमुसु हासे ।
मैले किन हासेको भनेर सोध्दा जवाफ फर्काए ।
“ढाड लाग्याको भण्या ढाड दुखेको हो कामरेड !
तम्ले सोच्या जसो अबैध गर्भ बस्याको नाई हो” । भन्दै फेरी हास्न थाले ।
ति आमाहरूको जवाफमा श्रीमानहरू द्वन्द्वका कारण कालापहाड तीर गएको र आफुहरू दिनभरी घरायसी काममा ब्यस्त हुँदा थकाईले ढाड दुखेकोले ढोका खोलेर नचिनेका मान्छेलाई बास दिन सकिदैन भन्ने जवाफ थियो । तर हामीले बुझ्दा शाब्दिक फरकका कारण गलत बुझियो । हाम्रो बुझाई गाउँमा श्रीमानहरू कमाउन बाहिर गएका बेलामा कसैले उपद्र गरेर आमाहरूको गर्भ बसेछ । अब हामी बास खोज्न गयौ भने हामीलाई नै बात लाग्छ कि भन्ने ठुलै डर भयो । एउटा फरक यात्रामा निस्किएका हामीलाई अरू नै कुराको बात लाग्छ भन्ने ठानेर बरू बास नमागी बाझो घरमा गएर सुत्यौ ।
तर आकाशको कुराले हामी पनि अचम्मित साथै स्पष्ठ भयौ ।
त्यो यात्रामा मात्रै नभई अहिले पनि उहाँहरूको “बा मुईत ढाड लाग्याको छ” भन्ने शब्द पटक पटक सम्झनामा आइरहन्छ। त्यो यात्राको कष्टपुर्ण हिडाई एकैछिन भए पनि बिर्साईदिन्छ र ती आमाहरूलाई सम्झिन मन लाग्छ जसले साईलेन्टली हामीलाई रातीको समयमा बास दिन ईन्कार गर्नु भएको थियो र हामी मनोवैज्ञानिक रूपमै बास नमागी हिड्दै घर( खर्क ) मा बास बस्न बाध्य भएका थियौ ।


































