
बैतडी: नेपालीहरुको महान् चाड बडादशैँको चहलपहल जताततै छाइरहेका बेला बैतडीको सिगास गाउँपालिकाका स्थानीय महिला भने हिउँदका लागि खर काट्ने काममा व्यस्त भएका छन् ।

पछि गहुँ छर्नका लागि खेत तयार पार्ने बेला आउने भएकाले दशैँको महत्वभन्दा पनि उनीहरुले घाँस भित्र्याउने कामलाई निरन्तरता दिएका सिगास गाउँपालिका ६ का राम बहादुर साउदले बताए । स्थानीय महिलाले छिमेकीसँग पालोपैँचो गरी खर घाँस काट्ने चलन रहिआएको उहाँले बताउनुभयो ।
हिउँदको समयमा गाईभैँसीलाई खुवाउन घाँसको अभाव हुने भएकाले मकै र धानी बाली भित्र्याएर खर घाँस भित्र्याउनमा लागेको सिगास ५ का राजमती धामले बताउनुभयो । यो समयमा धेरै कामको चटारो हुने भएकाले कामको सिलसिलामा भारत गएका धेरैजसो स्थानिय युवा पनि घर फर्कने गरेका छन् ।




सिगासका महिला दशैँको रमझममा रमाउनुभन्दा खर काट्नमै व्यस्त रहेका पाइन्छन् । मङ्सिर पहिलो सातासम्म वनमा रहेको हरियो घाँसलाई काटेर खर बनाउने कार्य सम्पन्न गर्ने गरिन्छ ।
खर काट्ने बेला सिगास गाउँपालिकाका कतिपय ठाउँमा भिर भएकाले महिलाले जोखिम मोलेर समेत खर काट्ने गरेका छन् । हरियो घाँसको लोभमा उनीहरु भिरमा चढेर खर काट्ने भएकाले प्रत्येक वर्ष अप्रिय घटनासमेत हुने गरेका छन् ।


































