
अत्तरिया: कैलालीको गोदावरी नगरपालिकामा आज देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुने भएको छ । शिक्षा, युवा तथा खेलकुद शाखा गोदावरी नगरपालिकाको आयोजनामा आज देखि प्रतियोगिता शुरु हुने शिक्षा शाखाले जनाएको छ ।

मंगलबारबाट शुरु हुने प्रतियोगिता २१ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगिता गोदावरी नगरपालिका –७ मा रहेको दुर्गा भवानी मावि हरैयाँमा सञ्चालन हुने छ भने प्रतियोगिताका खेलहरु भने अन्य बिद्यालयमा पनि खेलाईने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सामुदायिक र संस्थागत गरी ४५ वटा बढी विद्यालयका २ हजार बढी बिद्यार्थीहरुको सहभागिता रहने आयोजक टिमले जनाएको छ ।
प्रतियोगिता अन्तरगत ६ विधामा खेल खेलाइने छ । जसमा मार्सलाटका ३ विधा, एथलेटिक्स, भलिबल र कबड्डीका खेल रहेको खेल संयोजक शिवराज भट्टराईले बताएका छन । प्रतियोगिता अन्तरगतका ५ विधाका खेल दुर्गा भवानीको प्राङ्गणमा हुने छन भने एथलेटिक्सका खेल स्याउलेमा रहेको सैपाल युवा क्लबको खेल मैदानमा हुने जनाएको छ ।

प्रत्येक इभेन्ट्सका विजयी खेलाडीलाई पदक तथा प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक शिवराज भटराई बताए । प्रतियोगितामा पहिलो हुने विद्यालयलाई २० हजार दोस्रो हुने विद्यालयलाई १५ हजार र तेस्रो हुने विद्यालयलाई १० हजार नगद पुरस्कार पनि दिईन आयोजक नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।
प्रतियोगिता संयोजक भटराई प्रतियोगितामा सहभागिका लागि १ लाखको स्वास्थ्य बिमा गरिएको बताए । उनले प्रतियोगिता संचालन हुने स्थानमा हेल्थ डेस्कको पनि व्यवस्था गरिने बताए । गोदावरीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तेस्रो पटक आयोजना गर्न लागिएको हो । यसअघि अत्तरियामा रहेको शैलेश्वरी बिद्यालयलमा प्रतियोगिता आयोजना गरिएको थियो ।



























