
अत्तरियाः गोदावरी नगरपालिका–७ लालपुरमा रहेको सरस्वती ग्रामिण विद्युत सहकारी संस्था लिमिटेडको १८औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष रघु सिंह ओलीको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्ट रहेका थिए।




कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख भट्टले यस क्षेत्रमा गौशाला निर्माणको काम अघि बढाइएको जानकारी दिए। केही संरचनाहरू निर्माण भइसकेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि गौशालाका लागि बजेट बिनियोजन गरिएको बताए।
उनले विकास निर्माणका कामबारे धारणा राख्दै भने, “मुखले भन्ने र व्यवहारमा काम गर्नु फरक कुरा हो।” साथै, पालिकाभित्र अति आवश्यक योजनाहरूलाई प्राथमिकताका साथ अघि बढाइएको जानकारी पनि गराए।
नगरप्रमुख भट्टले स्थानीयलाई आग्रह गर्दै भने, “यस वडामा समाज विकासका लागि अति आवश्यक योजनाहरूको सूची बनाएर पालिकामा पेश गर्नुहोस्। पालिकाले सक्ने प्रयास गर्छ, प्रदेश र केन्द्रबाट सहयोग आवश्यक परेमा त्यो पनि गरिनेछ। तर, व्यक्तिगत लाभका लागि योजना ल्याउन उचित हुँदैन।”



































