
धनगढीः शैक्षिक सत्र २०८२ का लागि जनक शिक्षा सामग्री केन्द्रले सुदूरपश्चिम प्रदेशमा पठाउने पुस्तक वितरणको काम तीव्र पारिएको छ। हालसम्म १७ लाख १६ हजार थान पुस्तक धनगढी आइपुगेका छन्।

सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका सामुदायिक विद्यालयहरूमा कुल १८ लाख १७ हजार थान किताब आवश्यक पर्ने अनुमान गरिएको छ। शनिवार मात्रै थप दुई वटा सवारीसाधन मार्फत केन्द्रले छापाखानाबाट किताब धनगढी पठाएको छ। काठमाडौँबाट आइपुगेपछि बाँकी माग अनुसारका पुस्तक पनि ढुवानी हुने जनाइएको छ।
जनक शिक्षा सामग्री केन्द्र, प्रादेशिक कार्यालय, धनगढीले किताब बिक्री–वितरणको कामसमेत गरिरहेको छ। चैत १७ गतेदेखि किताबहरू पहाडी जिल्लाहरूमा पठाउन थालिएको छ। केन्द्रका प्रमुख रामविनय श्रेष्ठका अनुसार बाजुरा, दार्चुला, बझाङ र बैतडी जिल्लामा किताब वितरण सुरु भइसकेको छ।


बाजुराका लागि १ लाख ९ हजार २९६ थान, दार्चुलाका लागि ९५ हजार ४०६ थान, बझाङका लागि ७२ हजार ५५० थान, र बैतडीका लागि १ लाख १ हजार ७७३ थान किताब पठाइएको छ। शुक्रवारसम्म तीन लाख ७९ हजार २५ थान किताब यी चार पहाडी जिल्लामा पठाइसकिएको छ भने डोटी र अछामका लागि शनिवार किताब पठाइएको छ।
प्रदेशभर पुस्तक वितरणलाई सहज बनाउन जनक शिक्षाले सूचीकृत १९४ व्यापारीहरू मार्फत बिक्री–वितरण कार्य अघि बढाएको छ। चैत २९ गतेभित्र सबै जिल्लामा किताब पुर्याउने लक्ष्य लिइएको छ। तर, केही स्थानमा विद्यालय तथा स्थानीय तहले समयमै माग नपठाएकाले व्यापारीहरू वितरणमा ढिलाइ भोग्न बाध्य छन्।
नयाँ शैक्षिक सत्रका लागि कक्षा ९ का अर्थशास्त्र, वैकल्पिक गणित र कम्प्युटर विषय मात्र परिमार्जन गरिएको छ।































