
हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र भगवान हनुमानको जन्मजयन्तीका अवसरमा शनिबार वीरगञ्जमा आयोजित शोभायात्रामा झडप भएको छ।

शोभायात्राका क्रममा सहभागीहरूले उच्छृङ्खल गतिविधि गरेको आरोप लगाउँदै अर्को समूहले आपत्ति जनाएपछि स्थिति तनावग्रस्त बनेको हो। विवाद बढ्दै जाँदा दुई पक्षबीच ढुंगा हानाहान भएको प्रहरीले जनाएको छ।
झडपमा परेर केही व्यक्ति घाइते भएका छन्। अवस्था नियन्त्रणबाहिर जान थालेपछि प्रहरीले अश्रुग्यास प्रहार गर्दै भीड तितरबितर पारेको थियो।


घटनाका क्रममा केही पसल र मोटरसाइकलमा आगजनी गरिएको छ भने प्रहरीले अवस्था नियन्त्रणमा लिन लाठीचार्जसमेत गरेको छ।
अहिले स्थिति नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



























