
धनगढी:धनगढी उपमहानगरपालिकाले हुलाकी राजमार्गमा ७९ वटा जोडि ‘डस्टविन’ राखेको छ।

धनगढी उपमहानगरपालिकाले हुलाकी राजमार्गको क्याम्पसरोडदेखि मनेहरा कालिकाचोकसम्मको सडक खण्डमा ७९ वटा जोडि ‘डस्टविन’ राखेको छ।कुहिने र नकुहिने फोहोर छुट्याएर व्यवस्थापन गर्न सजिलो होस् भन्ने उद्देश्यले सडकको दुवै किनारामा डस्टविन राखिएको हो।

हाम्रो धनगढी, सफा धनगढी’ अभियानअन्तर्गत नगर क्षेत्र सफा राख्न र फोहोरमैला व्यवस्थापनमा सुधार ल्याउन उपमहानगरपालिकाले यो पहल अघि बढाएको हो। डस्टविन राखिएपछि सडकमा हिँड्ने पैदल यात्रु तथा सवारी साधन प्रयोगकर्तालाई फोहोर व्यवस्थापन गर्न सहज भएको स्थानीयको भनाइ छ। धनगढी मोतीचोककी रमिला बोहरा भन्छिन्, “पहिला जहाँ पायो त्यही फोहोर फाल्ने चलन थियो, अहिले भने डस्टविनको व्यवस्था भएपछि यात्रुहरूलाई फोहोर फाल्न सजिलो भएको छ।”

नगरप्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीका अनुसार नगर क्षेत्रमा अझै बाँकी रहेका स्थानहरूमा पनि क्रमशः यस्तै खालका डस्टविन राखिनेछ। साथै, नगर क्षेत्रभित्र गुड्ने सवारी साधनहरूमा पनि अनिवार्य रूपमा डस्टविन राख्न निर्देशन दिइएको छ। फोहोर व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन पैदल वा सवारी यात्रुले जथाभावी फोहोर फाल्ने खण्डमा जरिबाना गरिने चेतावनी उपमहानगरले दिएको छ। नगरलाई सफा, स्वच्छ र वातावरणमैत्री बनाउने दीर्घकालीन योजनाअन्तर्गत यो कार्यक्रम सञ्चालन गरिएको बताइएको छ।































