
भारतले गएराति ‘अपरेशन सिन्दूर’ अन्तर्गत पाकिस्तानका ९ स्थानमा मिसाइल आक्रमण गरेको छ। भारतीय सेनाले कश्मीरको पलगाममा २२ अप्रिलमा पर्यटकहरूमाथि भएको आतंकी हमलाको जवाफस्वरूप कारबाही गरिएको जनाएको छ। उक्त हमलामा एक नेपालीसहित २६ जनाको ज्यान गएको थियो।

भारतीय पक्षका अनुसार आक्रमणमा पाकिस्तानका ‘आतंकवादी शिविर’हरू लक्ष्य बनाइएका हुन्, भने सैन्य संरचनालाई नछुन खोजिएको छ। तर, पाकिस्तानी पक्षले सर्वसाधारणको बस्तीमाथि आक्रमण गरिएको आरोप लगाउँदै आएको छ।
पाकिस्तानी सञ्चारमाध्यम जियो न्यूजका अनुसार आक्रमणमा ९ जनाको मृत्यु भएको र ३५ जना घाइते भएका छन्। बहावलपुर, कोटली तथा मुजफ्फराबादजस्ता स्थानहरू आक्रमणको मुख्य केन्द्र बनेका छन्।


पाकिस्तानी सेनाले भारतका दुई फाइटर विमान खसालेको दाबी गरेको छ भने लाहोर एयरपोर्टमा आपतकालीन अवस्था घोषणा गरिएको छ। एयरपोर्ट खाली गराई उच्च सुरक्षा सतर्कता लागू गरिएको छ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले भारतको कारबाहीलाई “युद्धको उक्साहट” भन्दै कडा निन्दा गरेका छन् र बलियो प्रतिउत्तर दिने चेतावनी दिएका छन्।
यसबीच, संयुक्त राष्ट्रसंघले दुबै पक्षलाई संयमता अपनाउन आह्वान गरेको छ, तर क्षेत्रीय तनाव तीव्र गतिमा चुलिँदै गएको देखिएको छ।































