
कैलाली जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बाल नरसिंह राणाले सुरुवातमै सशक्त कार्यशैली अपनाउने प्रतिबद्धता जनाएका छन्। जिल्ला नेतृत्व सम्हालेपछि आज पत्रकारहरूसँगको भेटघाटमा एसपी राणाले सुरुमै ठूला बाचा गर्नुभन्दा परिणाम देखाउने पक्षमा आफू रहेको स्पष्ट पारे।

“सुरुमै म यो गर्छु भनेर भन्न चाहन्न,” उनले भने, “तर केही राम्रो काम गरेर देखाउने छु, अनि तपाईहरूले मेरा राम्रा काममा साथ दिनुहुन्छ भन्ने विश्वास लिएको छु।”
राणाले कैलाली जिल्लाको भौगोलिक र सामाजिक विशेषता औंल्याउँदै यस क्षेत्रको सुरक्षा चुनौतीलाई गम्भीर रूपमा लिएको उल्लेख गरे। “कैलाली प्रदेश राजधानी भएको, १०० किलोमिटरभन्दा बढी भारतसँग सिमाना जोडिएको, र विविध समुदायको बसोबास भएको जिल्ला हो। यहाँ तस्करी, लागुऔषध, र अन्य अवैध क्रियाकलाप नियन्त्रण गर्नु हाम्रो प्राथमिक जिम्मेवारी हो,” उनले जोड दिए।


एसपी राणाले नागरिकको जिउधनको रक्षा, सीमावर्ती सुरक्षाका चुनौती, र समाजमा शान्ति सुरक्षाको अनुभूति दिलाउने गरी काम गर्ने प्रतिबद्धता जनाए। “म एक साता मात्रै भएको छु, अझै धेरै कुरा बुझ्नेछु र तिनको समाधानमा जुट्नेछु,” उनले भने।
त्यसैगरी, उनले प्रहरी संगठनभित्रको आचरण सुधारलाई प्राथमिकतामा राखिएको जानकारी दिए। “प्रहरीको आचरण सुधार अभियान सुरु भइसकेको छ। नागरिकसँगको व्यवहार सुधार गर्न सबै दर्जालाई निर्देशन दिइएको छ,” भन्दै उनले प्रहरी र समुदायको सहकार्यबाट लागुऔषधजस्ता विकृति रोक्ने प्रतिबद्धता जनाए।



























