
उपभोक्ताहरूका लागि सानो राहतको खबर आएको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमका अनुसार नयाँ मूल्य १६ मे २०२५ (२०८२ साल जेठ २ गते) राति १२:०१ बजेदेखि लागू हुनेछ।

नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य घटाइएको हो।
इण्डियन आयल कर्पोरेशन (IOC) बाट १५ मे २०२५ मा प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा रु. १.०८ र डिजेलमा रु. २.८० ले मूल्य घटेर आएको छ। त्यसैका आधारमा नेपाल आयल निगम सञ्चालक समितिको निर्णयअनुसार खुद्रा बिक्री मूल्यमा आंशिक कटौती गरिएको हो।

नयाँ मूल्य निगमको डिपो वा कार्यालयबाट १५ किलोमिटरसम्मका लागि लागू हुनेछ।
पेट्रोलियम अन्तर्राष्ट्रिय बजारमा घटे पनि नेपाली बजारमा मूल्य समायोजन “समानुपातिक नदेखिएको” भन्दै उपभोक्ता अधिकारकर्मीहरूले मूल्य कटौतीलाई अपर्याप्त भनेका छन्।
































