
डडेल्धुरा: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संघीय सरकारप्रति कडा टिप्पणी गर्दै प्रदेशलाई आवश्यक अधिकार प्राप्त भए तीन वर्षभित्रै भूमिसम्बन्धी सबै समस्या समाधान गरिने दाबी गरेका छन्।

सोमबार डडेल्धुराको परशुराम नगरपालिका–१२ मा आयोजित अव्यवस्थित बसोबासीलाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा वितरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले भूमिसम्बन्धी समस्या समाधानका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै संघीय सरकारको सहयोग आवश्यक रहेको बताएका हुन्।
उनले जग्गाविहीन, अव्यवस्थित र पीडित समुदायको हक–अधिकार सुनिश्चित गर्न सकिने भन्दै, यसका लागि राजनीतिक इच्छाशक्ति र संघीय सरकारको स्पष्ट सहयोग अपरिहार्य रहेको स्पष्ट पारे।

त्यस्तै, शाहले हलिया, कमैया र कमलरी मुक्तिमा नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको ऐतिहासिक भूमिका रहेको स्मरण गरे। उनले २०५७ साल साउन २ गते देउवा नेतृत्वको सरकारले कमैया मुक्तिको घोषणा गरेर ऐतिहासिक काम गरेको बताए।

जग्गा पुर्जा वितरण कार्यक्रम परशुराम नगरपालिकाका नगर प्रमुख भरत बडायर जोशीको सभापतित्वमा जोगबुडा अस्पताल सभाहलमा सम्पन्न भएको थियो। भूमि समस्या समाधान आयोग, जिल्ला समिति डडेल्धुराको समन्वयमा पालिकाले वडाका ६४ जनालाई जग्गाधनी प्रमाण–पुर्जा वितरण गरेको हो।
कार्यक्रममा प्रदेशका कृषि मन्त्री वीरबहादुर थापा, नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता खगराज भट्टलगायतको उपस्थिति रहेको थियो।
त्यस अवसरमा मुख्यमन्त्री शाहले परशुराम नगरपालिकास्थित जनज्योति माध्यमिक विद्यालय परिसरमा वृक्षारोपणसमेत गरेका थिए। विद्यालयले आगामी वर्षको बजेट विनियोजनका लागि ज्ञापनपत्र पनि मुख्यमन्त्रीलाई बुझाएको छ।






























