गर्मीले घटायो उत्पादन, अण्डाको मूल्य बढ्दा किसानलाई केही राहत

Image
Nisarga Hospital

लामो समयदेखि लागतभन्दा कम मूल्यमा अण्डा बेच्न बाध्य किसानले अण्डाको मूल्यमा आएको हालको वृद्धिलाई राहतका रूपमा लिएका छन्। पछिल्लो समय अत्यधिक गर्मीका कारण अण्डा उत्पादन घट्दा माग बढेको र त्यसैको असरस्वरूप मूल्यमा सुधार आएको हो।

CP Hospital Dhangadhi

नेपाल लेयर्स कुखुरा पालक सङ्घले अण्डाको नयाँ समर्थन मूल्य तोकेको छ, जसअनुसार आजदेखि लागू हुने नयाँ दरमा एक्सएल अण्डाको फार्म मूल्य प्रति क्रेट (३० वटा) ४८० रुपैयाँ, ठूलो अण्डाको ४६५ रुपैयाँ र मझौला अण्डाको ४३५ रुपैयाँ निर्धारण गरिएको छ। यसले हरेक अण्डामा किसानलाई अब १५ रुपैयाँ ५ पैसा प्राप्त हुने सङ्घका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए।

उनका अनुसार लागत मूल्य अझै १६ रुपैयाँ ५६ पैसा पर्ने भए पनि पछिल्लो मूल्यवृद्धिले केही राहत दिएको किसानको भनाइ छ। चर्को गर्मीका कारण उत्पादनमा २५ प्रतिशतसम्म गिरावट आएको, कुखुराले कम दाना खानुका साथै विभिन्न रोग फैलिनु मुख्य कारण भएको बताइएको छ।

पाँच महिनाअघि दैनिक ४० हजार कार्टुन अण्डा उत्पादन हुने बजार अहिले २५ हजारमा झरेको छ। माग बढिरहे पनि दानाको मूल्यवृद्धि र मूल्य नबढ्दा अधिकांश किसानले कुखुरा बेचिसकेका छन्। हालसम्म करिब ७५ प्रतिशत किसान अण्डा उत्पादनबाट विस्थापित भइसकेका छन् भने ठूला फार्मले बजारलाई धानेका छन्।