
भारत सरकारको आर्थिक सहयोगमा अछामको साँफेबगर नगरपालिका–१ मा निर्माण भएको महेन्द्र माध्यमिक विद्यालयको नयाँ भवन औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। ३ करोड २४ लाख रुपैयाँको लागतमा बनेको भवन जिल्ला समन्वय समिति प्रमुख ललित बहादुर कुँवर, नगरप्रमुख राजेन्द्र बहादुर कुँवर र भारतीय राजदूतावासका प्रथम सचिव सुमन शेखरले संयुक्त रूपमा विद्यालयलाई हस्तान्तरण गरेका हुन्।

विद्यालयमा कक्षाकोठा, प्रयोगशाला, कम्प्युटर र पुस्तकालय कक्ष, प्रशासन शाखा, शौचालयसहितको सुविधा समेटिएको छ। अनुदानले कम्प्युटर र फर्निचर खरिदमा समेत सहयोग पुगेको हो।
४०० विद्यार्थी रहेको विद्यालयमा छात्रा संख्या ६५ प्रतिशत रहेको छ। सन् १९६० मा स्थापना भएको यो विद्यालय अहिले नर्सरीदेखि कक्षा १२ सम्म सञ्चालन हुँदै आएको छ।


सुदूरपश्चिम प्रदेशमा मात्र भारत सरकारद्वारा ४३ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालनमा छन्। अछाममा ६ वटा एम्बुलेन्स तथा स्कुल बससमेत उपहारस्वरूप प्रदान गरिएको छ।
भारत–नेपाल विकास सहकार्यअन्तर्गत भारतले शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा सहयोग गर्दै आएको छ।




















