
अछामको बान्निगढि बर्दादेवीको डाँडामा विपद् तथा आपतकालीन अवस्थामा उद्धार र राहत सामग्री ढुवानी सहज बनाउने उद्देश्यले हेलिप्याड निर्माण गरिएको छ। नेपाली सेनाको गोरख बक्स गणले हेलिप्याड निर्माण गरेर बान्निगढी जयगढ गाउँपालिकालाई औपचारिक रूपमा हस्तान्तरण गरेको हो।

गणपति सङ्गम अधिकारीका अनुसार गाउँपालिकाको आर्थिक सहयोगमा सेनाले श्रमदानमार्फत हेलिप्याड निर्माण सम्पन्न गरेको हो। “यसले नागरिक र सुरक्षाकर्मीबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास लिएको छु,” अधिकारीले भने।

हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष टेकबहादुर साउदले हेलिप्याडले आपतकालीन अवस्थामा मात्र होइन, पर्यटकीय तथा धार्मिक गन्तव्य बर्दादेवी मन्दिरको प्रचारप्रसारमा समेत टेवा पुर्याउने बताए। उनले गाउँपालिकाबाट एक लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको र सेनाले निर्माण कार्यमा श्रमदान गरेको जानकारी दिए।


















