
अत्तरिया: कैलालीको गोदावरी नगरपालिका वडा नं. ११ ओलनीमा सञ्चालन भएको कम्प्युटर डिप्लोमा तथा सिलाई-कटाई तालिम सफलतापूर्वक सम्पन्न भएको छ। तालिम समापनसंगै ५६ जना सहभागीलाई प्रमाणपत्र वितरण गरिएको हो।



छ महिनासम्म सञ्चालन भएको तालिममा ४४ जना युवाले कम्प्युटर डिप्लोमा तालिम र १२ जनाले सिलाई-कटाई तालिम लिएका थिए। तालिमको उद्देश्य ग्रामीण क्षेत्रका बेरोजगार युवा तथा महिलालाई सीपमूलक शिक्षा प्रदान गरी स्वरोज़गारमा जोड्नु रहेको आयोजकले जनाएको छ।

समापन कार्यक्रम वडा अध्यक्ष प्रेम सिंह बडैला अध्यक्षता तथा नगर प्रमुख बिरेन्द्र भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा नगर प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष गोपाल दत्त भट्ट, वडा नं. ११ का अन्य जनप्रतिनिधि र प्रशिक्षकहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टले प्रविधि र सीपको तालमेल आजको आवश्यकता भएको उल्लेख गर्दै भने, “कम्प्युटर शिक्षा अहिलेको आवश्यकता रहेको बताएका छन् ।

हामीले युवाहरूलाई समय सापेक्ष सीपमा दक्ष बनाउनु आवश्यक छ। कम्प्युटर तालिम र सिलाई-कटाई जस्ता व्यावसायिक तालिमहरूले युवाहरूलाई आत्मनिर्भर र स्वरोज़गार बनाउने दिशामा टेवा पुर्याउँछन्। गोदावरी नगरपालिकाले यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेको छ।


तपाईंहरूले सिकेको सीपलाई व्यवहारमा उतार्नुपर्छ, यसैबाट तपाईंको भविष्य उज्ज्वल बन्न सक्छ। आगामी दिनमा समेत वडाहरूको माग अनुसार थप सीप विकास कार्यक्रम सञ्चालन गरिनेछ। सबै प्रशिक्षार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन् ।

वडाध्यक्ष प्रेम सिंह बडैलाले रोजगारमुखी तालिम मार्फत स्थानीय युवाहरूलाई आत्मनिर्भर बनाउन वडाले योजनाबद्ध रुपमा काम गरिरहेको जानकारी गराए। “यसअघि बेसिक तालिम सञ्चालन गरिएको थियो, अहिले डिप्लोमा स्तरको तालिममार्फत उनीहरूको सीपलाई परिष्कृत गरिएको हो,” उनले भने।
नगर प्रवक्ता भट्टले भने, “यो कम्प्युटर युग हो। कम्प्युटर सीप बिना आजको बजारमा टिक्न गाह्रो हुन्छ। सिकेको सीप गाउँघरमै प्रयोग गरेर स्वरोज़गार बन्न सकिन्छ।”
तालिम प्रशिक्षकहरूमा कम्प्युटरतर्फ लाल सिंह कार्की र सिलाई-कटाईतर्फ भीम नेपाली थिए। सहभागीमध्ये सिलाई-कटाईतर्फ सोनिया विक र गंगा साउदले सिकेको सीप र ६ महिनाको सिकाइ अनुभव साटेका थिए । भने ६ महिना सम्म आफ्नो अनुभवलाई प्रशिक्षार्थीलाई किसाई साट्ने प्रशिक्षकहरुलाई दोसल्ला ओडाएर सम्मान समेत गरेका थिए।
कार्यक्रमले ओलनी क्षेत्रमा रहेको दलित तथा विपन्न समुदायका युवाहरूलाई रोजगारी र आत्मनिर्भरताको दिशामा सार्थक प्रभाव पार्ने अपेक्षा गरिएको छ।





















