
माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजा यही असारभित्रै सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का उप-नियन्त्रक तारानाथ निरौलाका अनुसार अहिले देशभरका परीक्षण केन्द्रहरूबाट उत्तरपुस्तिका परीक्षण सकिएर बोर्डमा आउने प्रक्रिया जारी छ।

चालु वर्षको एसइई परीक्षा गत चैत ७ गते सुरू भई १४ गते सम्पन्न भएको थियो। तर शिक्षक आन्दोलनका कारण यसपटक नतिजा प्रकाशनमा ढिलाइ भएको हो। अघिल्ला वर्षहरूमा असारको दोस्रो वा तेस्रो साता भित्रै नतिजा प्रकाशित हुने परम्परा भए पनि यसपटक केही प्रभावित भएको बोर्डले जनाएको छ।
परीक्षा नियन्त्रण कार्यालयले भने बाँकी काम तीव्र गतिमा भइरहेको र असारभित्रै नतिजा प्रकाशित गर्ने लक्ष्यमा आफूहरू जुटिरहेको स्पष्ट पारेको छ।


यसपटकको एसइई परीक्षामा करिब पाँच लाख विद्यार्थी सहभागी भएका छन्। परीक्षा प्रणालीमा ग्रेडिङ प्रणाली लागू भए पनि विद्यार्थी, अभिभावक र शिक्षकहरूले समयमै नतिजा प्राप्त होस् भन्ने अपेक्षा राख्दै आएका छन्।
बोर्डले नतिजा प्रकाशन मिति नजिकिँदै जाँदा थप सूचना सार्वजनिक गरिने जनाएको छ।




















