
नेपालमा पहिलोपटक मोटरेबल पक्की पुलसम्बन्धी प्रदर्शनी मेला आयोजना हुने भएको छ। स्थानीय सडक पुल सहयोग इकाई (एलआरबीएसयू) को पहलमा आगामी असार १० र ११ गते ललितपुरको मानभवनस्थित क्रिस्टल ब्याङ्क्वेटमा मेला आयोजना गरिने भएको हो।

एलआरबीएसयूका प्रमुख शकील मानन्धरका अनुसार, दुई दिने मेलामा सातै प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, स्थानीय पूर्वाधार विकास विभाग, स्केफ नेपाल, शैक्षिक संस्थान, निर्माण व्यवसायी संघ तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहनेछ। साथै, पुल निर्माण तथा डिजाइनमा संलग्न इन्जिनियर तथा विज्ञहरू पनि उपस्थित रहनेछन्।


मेलामा पुल निर्माणमा प्रयोग भइरहेका नयाँ तथा आधुनिक प्रविधिका मोडेलहरू, डकुमेन्टरीहरू, डिजाइनसम्बन्धी ज्ञान, तथा देशभर निर्माण भएका पुलहरूको फोटो प्रदर्शनी गरिनेछ।
प्रदर्शनी असार १० गते दिउँसो १ः३० देखि ४ बजेसम्म र असार ११ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सर्वसाधारणका लागि खुला हुनेछ।
प्रमुख मानन्धरले प्रदर्शनीले नेपालमा पुल निर्माणको दीर्घकालीन विकास र प्रवद्र्धनमा सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।




















