
धनगढीमा कुटपिटबाट एक व्यक्तिको मृत्यु भएको घटनामा संलग्न दुई जना पक्राउ परेका छन्।


जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–१४ फूलबारीका ३५ वर्षीय गणेश गिरीको कुटपिटपछि मृत्यु भएको हो। उनलाई आफ्नै १८ वर्षीय भान्जा प्रदीप बोहराले ‘एयरफोन चोरी गरेको’ आरोपमा असार २८ गते राति कुटपिट गरेका थिए।
गम्भीर घाइते गिरीको उपचारका क्रममा असार ३० गते मृत्यु भएको थियो। घटनापछि परिवारले परम्परागत विधिअनुसार शव गाडेर अन्त्येष्टि गरेका थिए।
तर, हत्या गरिएको सूचना सार्वजनिक भएपछि प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान थालेको थियो। अनुसन्धानको क्रममा शव गाडिएको स्थान पहिचान गरी उत्खनन् गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
कुटपिटमा संलग्न प्रदीप बोहरासँगै मृतकका ३३ वर्षीय सहोदर भाइ पदम गिरीलाई पनि ‘मतियार’को संज्ञामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
हाल दुवैजनामाथि अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको छ। शव परीक्षणपछि मृतकको शव परिवारलाई बुझाइएको छ।

































