
सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा साउनको दोस्रो सातासम्म पनि निरन्तर वर्षा नभएपछि किसान चिन्तित भएका छन्। जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका अनुसार असारको अन्त्यमा रोपाइँ सकिए पनि आकासे पानीको भरमा रहेका खेतहरू सुक्दै गएका छन्।

इन्जिनियर सञ्जयकुमार शाहका अनुसार ३० जुनमा कैलालीको धनगढीमा २१२ मिलिमिटर वर्षा भएपछि खासै पानी परेको छैन। त्यही दिन धनगढी बजार जलमग्न भएको थियो। यता मनसुन जेठ १५ गते पूर्वी नेपालबाट प्रवेश गरे पनि कमजोर प्रणालीका कारण सुदूरपश्चिममा असार ६ पछि मात्र फैलिएको थियो।

यस वर्ष सुदूरपश्चिममा सरदरभन्दा बढी वर्षा हुने अनुमान थियो। तर कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा, अछामलगायतका जिल्लामा अपेक्षित मात्रामा वर्षा नहुँदा कृषि उत्पादनमा असर पर्ने संकेत देखिन थालेको छ।

उता हिमाली भेगमा भने तापक्रम वृद्धिका कारण बाढी र हिमताल विस्फोटको जोखिम बढेको छ। शाहका अनुसार भोटेकोशी, रसुवा, मुस्ताङ, हुम्ला लगायतका क्षेत्रमा जुनसुकै बेला बाढी आउन सक्ने खतरा उच्च छ। जलवायु परिवर्तनको प्रभाव झन् गहिरिँदै गएको छ।

















