
सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा विभिन्न विपत्का घटनामा ४० जनाले ज्यान गुमाएका छन्। प्रदेश सरकार अन्तर्गतको आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गतको आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार मृतकमध्ये १९ पुरुष र २१ महिला छन्।

सबैभन्दा धेरै ११ जनाको ज्यान चट्याङबाट गएको छ भने पहिरोमा ७ र बाढीमा ६ जनाले ज्यान गुमाएका छन्। त्यस्तै जनावर आक्रमणबाट ४, आगलागीबाट ३, हावाहुरीबाट १ र अन्य विभिन्न घटनाबाट ६ जनाको मृत्यु भएको हो।
विपद् घटनामा १९९ जना घाइते भएका छन्, जसमा ८८ पुरुष र १११ महिला छन्। उक्त अवधिमा ७९७ वटा विपद्का घटना दर्ता भएका छन् जसबाट २ हजार ३८० परिवार प्रभावित भएका छन्। १०७ घर पूर्ण रूपमा र १७२ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। साथै, १०१ गोठ र ४८२ चौपायाको क्षति पुगेको छ।

वर्षभरिमा विपद्का कारण ३७ करोड १८ लाख रुपैयाँ बराबरको भौतिक तथा आर्थिक क्षति भएको केन्द्रको बुलेटिनमा उल्लेख छ।

मन्त्रालयले मनसुनजन्य विपत्बाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि ‘प्रदेश विपद् प्रतिकार्य योजना’ तयार गरेको छ।
सूचना अधिकारी दीपेन्द्रसिंह विष्टका अनुसार योजना मन्त्रालयबाट तयार भइसकेको र समितिबाट पारित हुने चरणमा पुगेको छ।
योजना अनुसार चालू वर्षमा २ लाख २७ हजार ७३० व्यक्ति तथा ४२ हजार ११२ घरधुरी मनसुनजन्य विपत्बाट प्रभावित हुने अनुमान गरिएको छ।

















