
हाल देशभर मनसुनी वायुले प्रभाव जमाएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपासमा रहँदा पूर्वतर्फ भने सरदर स्थानभन्दा उत्तरतिर सरेको छ।

यसको प्रभावस्वरूप आज (मंगलबार) देशभर सामान्य बदलीको अवस्था रहनेछ। कोशी, बागमती र लुम्बिनी प्रदेशका साथै अन्य पहाडी भू–भागका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

रातिको समयपनि उस्तै रहने संकेत दिइएको छ। लुम्बिनी प्रदेश तथा अन्य पहाडी क्षेत्रहरूमा सामान्य बदली रहनेछ भने बाँकी तराई क्षेत्रहरूमा आंशिक बदली रहने जनाइएको छ। यस्तै, लुम्बिनी प्रदेशसहित देशका पहाडी भागका थोरै स्थानहरूमा र तराईका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना पनि रहेको विभागले जनाएको छ।

वर्षा र मौसमको यस्तो अवस्थालाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूको सुझाव रहेको छ, विशेष गरी पहाडी क्षेत्रमा बाढीपहिरोको सम्भावनालाई ध्यानमा राख्न अनुरोध गरिएको छ।


















